नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले देशी विदेशी षड्यन्त्रका कारण देश अत्यन्त कमजोर अवस्थामा पुगेको बताएका छन् । विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सभालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिस्ट आन्दोलन सुरु भएको ७६ वर्ष पुगे पनि यो अवधिमा अपेक्षा गरिएको जस्तो प्रगति नभएको बताए ।
उनले संविधानमा उल्लेख गरिएको भूमि सुधार र कृषि क्रान्ति जस्ता विषयहरू दलका नेताहरू सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति रहेको बताए । उनले अब नेपाली कम्युनिस्ट पार्टीले कृषिलाई आधुनिकीकरण गर्ने सङ्कल्प गरेको बताए । उनले त्यसैका लागि पार्टीहरू एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको बताए । नेपाली विशेषताको समाजवाद स्थापना गर्ने विषयमा सबै सहमत भएको पनि उनले उल्लेख गरे । नेता खनालले यी सबै उपलब्धि प्राप्तिको शैली एमालेको जस्तो नहुने पनि बताए।



















