‘दुर्गा मूर्ति उपहारसँगै प्रसाईं समूह र प्रधानमन्त्रीबीच सिंहदरबारमा भेट वार्ता

सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता भएको छ । प्रसाईं समूहले राखेका २७ बुँदे मागका सम्बन्धमा भइरहेको वार्तामा प्रधानमन्त्री सुशीला कार्की आफैँ सहभागी छिन् ।

वार्ता सुरु हुनुअघि प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका थिए । वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् भने प्रसाईं पक्षबाट १९ जना उपस्थित छन् ।

प्रधानमन्त्री कार्कीले प्रसाईं समूहका मागबारे छलफल गर्न पत्र काटेरै वार्तामा बोलाएकी थिइन् । प्रसाईं समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्न, राजसंस्था पुनर्स्थापना, हिन्दू राज्य घोषणा र धर्मनिरपेक्षता खारेज गर्न माग गरिएको छ ।

यसैगरी विदेशी हस्तक्षेप नियन्त्रण र सार्वजनिक शान्ति तथा नागरिक स्वतन्त्रताको सुनिश्चितता जस्ता विषय पनि समावेश छन् ।