बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा मथुरा जिल्लामा मंगलबार बिहान ठुलो दुर्घटना भएको छ । यमुना एक्सप्रेसवेमा धेरै सवारी साधन आपसमा ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका हुन्। आगरा–नोएडा एक्सप्रेसवेमा बिहान करिब ४ बजेतिर अत्यधिक कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बिहान करिब ४ः३० बजे बाक्लो हुस्सुमा कम्तीमा सात बस र धेरै साना सवारी साधनहरू एकआपसमा ठोक्किएका थिए । यमुना एक्सप्रेसवेको आगरादेखि नोएडा जाने खण्डमा कम भिजिबिलिटीका कारण गाडीहरू ठोक्किएका थिए। केही गाडीहरूमा आगो पनि लागेको थियो।आगो नियन्त्रण गर्न र फसेका यात्रुहरूको उद्धारका लागि ११ वटा दमकलसहित अग्नि तथा आपत्कालीन सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। घटनास्थलका दृश्यहरूमा जलेर क्षतिग्रस्त भएका बसका अवशेषहरू देखिएका छन्।
ती सवारी साधनहरू हटाउन क्रेन प्रयोग गरिएको थियो।प्रहरी अधिकारीका अनुसार यात्रुहरूलाई सरकारी गाडीमार्फत गन्तव्यतर्फ पठाइएको छ। सडक अवरुद्ध भएकाले डाइभर्सन गरिएको उनले बताए। उत्तरी भारतभर फैलिएको बाक्लो हुस्सुका कारण सडकमा भिजिबिलिटी निकै कम रहेको छ।


















