उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा उनकाे जाेड छ । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गरे ।
नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने उनकाे भनाइ छ । जेन-जी आन्दोलनको स्प्रिड पनि यही रहेको बताउँदै उनले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुर्भाग्य हुने बताए । उनले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता आँैल्याए । सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एकठाउँमा आउने गरी प्रयासहरु भइरहेको उनले जानकारी दिएका छन् ।उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गरे ।
उनले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गरे । उनले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गरे। भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गरेका छन् ।



















