ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको चाहना र देश हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उज्यालो नेपालको एकीकरणपश्चात् उनले प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपासँग उज्यालो नेपालको एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिइएको उल्लेख गरेका छन् । उनले दुई पार्टीबीच ‘ऐतिहासिक एकीकरणको सहमति’ भएको बताएका छन् ।
‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ,’ उनले लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ ।’




















