प्रणव मन्त्र ॐ को एक अक्षरमा तीन अक्षर अ, ऊ, म रहेको छ । ॐ को अकारले जगत्को बीजस्वरुप ब्रह्माको बोध हुन्छ । यसको ‘ऊ’ कारले कारणस्वरुप श्रीहरिको र ‘म’ कारले नीललोहित शिवको बोध हुन्छ । अ कार सृष्टिकर्ता हो, ऊ कार मोह हो र म कार चाहिँ अनुग्रह हो । बीजका स्वामी ‘म’ कार, बीज ‘अ’ कार र ‘ऊ’ कार योनि हो । अ, ऊ, म को माथिको चन्द्राकार शक्तिस्वरुपा ‘ई’ हो । ‘पूं’ र प्रकृतिको योग संसारको रचना होे । महेश्वर ‘बिजी’, ‘बीज’ र ‘योनि’ पनि हो यसलाई ‘नाद’ भनियो । ‘बिजी’ भगवान् महेश्वरको लिङ्गबाट अकार रुप ‘बीज’ प्रकट भयो । ‘अ’ कार रुप ‘बीज’ ‘ऊ’ कार रुप ‘योनि’मा प्रस्फुट भयो । यो ‘बीज’ अब सुवर्णमय अण्डको रुपमा देखियो । दिव्य वर्षाैतक यो अण्ड जलमा रहँदा दिव्य एकहजार वर्ष पूरा भयो । अण्डा दुई टुक्रा भएर फुट्यो । जलमा रहेको त्यो अण्ड अजन्मा ब्रह्माजीको उत्पत्ति स्थान भयो । माथिल्लो भाग सुवर्णमय अण्डामा कपाल थियो त्यो देवलोक भयो । कपालयुक्त तल्लो भाग पृथ्वी भयो । त्यही अण्डबाट सारा सृष्टि, स्थिति र पालना एवं संहार हुने भयो । अ, ऊ, म तीन अक्षर मिलेर चन्द्राकार सहित पूर्ण अक्षर ॐ भयो । ॐ बाट प्रणव गायत्री मन्त्रहरु र वेदहरु बिस्तारै प्रकट भए ।
जगत्को रचना क्रममा परमेश्वरबाट दायाँ बायाँ अङ्गबाट क्रमशः स्वायम्भू मनु पुरुष र शतरुपा स्त्री पैदा भइन् । मनुका सन्तान हामी मानव भयौं, दनुका सन्तान दानवहरु भए । संसार अग्लो, होचो नमिलेको देखियो । खण्ड खण्ड सबै मिलाएर पूर्णता दिने क्रममा परमेश्वरले पछि पृथु अवतार लिए । पृथु अवतार लिएर जमिनका खण्डहरु मिलाइएको कारणले धर्तीलाई पृथ्वी भनियो । सबैतिर समथर भने गराउन सकिएन अहिले पनि धर्तीमा अग्लाइ होचाइ फरकफरक देखिएका छन् । त्यसबेला अहिले जस्तो राजनैतिक देश विभाजन, फरक नाम, फरक परिवेश थिएन । संसार केवल एउटै थियो । त्यस धर्तीमा अध्यात्म विज्ञानले एक छत्र विजय पाएको थियो । हाल भौतिक विज्ञानले अन्धाधुन्द प्रतिस्पर्धी विजय प्राप्त गरेको छ ।
हाल अरबौँ बढी मानिसले बसोबास गर्ने यस पृथ्वीका अतिरिक्त अर्काे ब्रह्माण्ड पनि अर्काे परिवेश पनि छ कि भनेर भौतिक विज्ञानले खोजी कार्य गर्न लागेको छ । वैदिक विज्ञानले हामीले नदेखेका धेरै अरु ब्रह्माण्ड छन् भनेको छ । पूर्वी यदर्शनको विशिष्ट भगवान्को वाणी चार वेदमध्ये अथर्व वेदले भौतिक विज्ञानको खोजी र सङ्केत गरेको छ । अथर्ववेदको स्थापत्यवेद र त्यसको वास्तु पद्धति पञ्चतत्वका विषयवस्तुको अध्ययन र व्यवस्थापन हो । वास्तुपद्धति अनुसार जीवनसञ्चालन हुन नसक्ने परिस्थिति, परिवेश, परिघटना, परिदृश्यमा आफ्नो मन्त्रशक्तिमा ॐ को प्रयोग, हरेक बिहानी ॐ को उच्चारण, मङ्गल सूचक ॐ को दृश्य चित्र, घर, मन्दिर, पूजा स्थलदेखि मङ्गल सूचक हरेकक्षेत्र झ्याल, ढोका, कारखाना, हल, मल, बाहन, उद्यान, सडकमा ॐ को सङ्केत दिने परम्पराको थालनी भएको हो । व्यक्तिले प्रत्येक श्वासप्रश्वासमा दैनिक २१ हजार ६०० पटक ॐ को उच्चारण गर्दै ‘हंस’ नामक अजपा गायत्री मन्त्र जपिरहेको हुन्छ । हिजोआज त गुप्त जप्नुपर्ने गायत्री मन्त्र खुल्ला रुपमा सङ्गीतबद्ध तरिकाले जप्ने, सुन्ने चलन आएको छ । व्यक्ति स्वयंलाई अजपा गायत्रीको मन्त्र जपिरहेको भान आफैँलाई हुँदैन त्यसैले यो निस्प्रयोजन भएको छ । मानिस जन्मदा कोहं (क्वाहाँ) गर्छ भने विदा हुँदा सोहं (स्वाहाँ, स्याँ, स्याँ) गर्छ ।
ब्रह्माण्डको मूल ऊर्जा स्वरुप ॐ नै हो । यसैबाट संसारका लागि आवश्यक ऊर्जा प्राप्त छ । सकारात्मक ऊर्जा प्राप्त गर्न गृहस्थारम्भ गर्ने बिहेवारी होस्, सवारी साधन सजाउँदा होस्, घर बनाउँदा होस्, व्यापारिक कार्यमा होस् वा कुनै नयाँ साइत गर्दा समेत मङ्गल सूचक ॐ को दृश्य सजाएको देखिन्छ । ॐ को चिह्न, घरढोकाहरुमा ॐ को प्रतीक, ठूला सभाहरुमा ॐ को चिह्नदेखि विशिष्ट योग साधना, शिक्षण, प्रशिक्षण, कार्यशाला, व्यायामशाला, घर, मल, स्टलहरुमा ॐ को ब्रह्माण्डीय प्रतीक यसको चिह्न राखेको पाइन्छ । शास्वत नाम ॐ एकमात्र सुरु र अन्त्यको सङ्केत पनि हो । पूर्र्वीय दर्शनमा, ॐ कार परिबारमा हिन्दु, बुद्ध, शिक्ख र जैन धर्मावलम्बीहरु पर्दछन् तर ॐ साह्रा ब्रह्माण्डमय जगत्को बीजरुप भएकाले एक ब्रह्म बीजबाट अनन्त सिर्जना हुने भएकोले इस्लामधर्मीहरुले ॐ लाई अमिन भन्ने गर्दछन्, ईसाईहरुले ॐ लाई अमेन भन्ने गर्छन्, बुद्धिष्टहरुले ॐ लाई ‘मणिपद्मे हुँ’ भन्छन्, जैनमार्गीहरुले ‘पद्म बीज अक्षर’ भन्छन्, शिक्खहरुले ‘एक शतनाम’ भन्ने गर्छन् । ॐ शब्द नाद भएकाले चराहरुको आवाजदेखि नदी तरङ्ग, झर्ना स्वर र समस्त वायुमण्डलीय ऊर्जा स्रोत भएकाले पृथ्वीवासीदेखि अन्तरिक्षसम्मका लागि ॐ सबैको साझा विषय हो । आकाश सबैको चौतारी भएकाले यसलाई वेदले ‘ॐ खं ब्रह्म’ भनेको छ । नासाले संस्कृत शव्द यसकारण रुचाएको हो कि उसले प्रक्षेपण गरेका शव्दावलीहरुलाई आकाशीय पिण्डहरुले लिएका छन्, डेटाहरु लिन सजिलो भएको छ अनुसन्धानका लागि । हरेक दिन विहानै हामीले ओम उच्चारण गर्दै लामो श्वास प्रश्वास गर्दा शरिरका तमाम खरावीहरु निश्काशन हुन्छन्, शरिरमा भएका मयलहरु बाहिर आउँछन् । चिसो बढेसंगै विहान अचेल बाहिर निस्कन त्यति सहज छैन र रोगीहरुले त हुन्न नै । ओम उच्चारण गर्दै लामो सास तान्ने छोड्ने गर्दा मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्छ, ब्रेन स्टृोकको डर हुन्न, मिर्गौला, मुटु स्वच्छ हुन्छ । प्याँक्रियाजले इन्सुलिन राम्रो दिन थाल्छ, शरिरमा बोसो कम भई गुड कोलोस्टोरल बढ्ने र खराव कोलोस्टोरल घट्ने हुन्छ । श्वास विज्ञानमा लयमा रहेर विहान खालि पेटमा योगाभ्यास घर, कोठामै गर्न सकिन्छ, पर्याप्त हावा आपूर्ति हुने स्थानमा । निरोगी शरिर सबैलागि राम्रो हुन्छ नत्र सबैलाई भार मात्र ।


















