अमनचैन सुखसयल गर्न र अरूलाई कज्याउन सम्पत्ति र सत्ता दुवैका लागि निरन्तर युद्ध, आन्दोलन र संघर्ष भएका गम्भीर र सङ्गीन घटना विश्वको इतिहासमा छ्यापछ्याप्ती पाइन्छ। हुने र नहुने बीचको दूरी बढ्दै जाँदा उत्पन्न भएको असन्तोषले क्रान्तिको जन्म लिन्छ। सन् १७८९ को फ्रान्सको राज्यक्रान्ति, सन् १९११ को चीनको क्रान्ति, सन् १९१७ मा रुसमा भएको क्रान्ति यस्तैउस्तै धेरै कारणबाट भएका थिए। सत्ता र सम्पत्तिका कारण संघर्ष गरी दुवै प्राप्त गरेकाहरूलाई पनि सत्ता र सम्पत्तिको मातको सत्तोसराप लागेका दृष्टान्त पनि सबैतिर पाइन्छन्। सम्पत्तिको समुचित प्रयोग नगरी सुखसयल र भोगविलासमा रमाउँदा विभिन्न राजवंशहरूको पतन समेत भएको थियो। इतिहास यसै भन्छ। नेपालमा पनि सुखसयल र भोगविलासमा राज्यको स्रोत दोहन गर्ने शासकहरू पतन भएका धेरै उदाहरणहरू छन्। लिच्छवि, खसिया, बाइसी र चौबिसी राज्यका शासकहरू पनि सम्पत्ति र सत्ताको मातका कारण बिलाए। सानो निर्धन, निर्बल र टाकुरे राज्य गोर्खाले काठमाडौँ उपत्यका जस्तो त्यत्रो विशाल स्रोतसाधन भएका राज्यलाई हराउन सकेको कारण पनि यही भोगविलासिता नै प्रमुख थियो।
आधुनिक नेपालको इतिहास अध्ययन गर्ने हो भने सत्ता परिवर्तनपश्चात् नयाँ कुलीन वर्गको जन्म भएको देखिन्छ। गोर्खालीले काठमाडौँ विजय गरेपश्चात् निर्माण भएको नव नेपाल राज्यमा गोरखालीका केही थरघर राज्यको स्रोतमा हालीमुहाली गर्न पाउँदा कुलीन वर्गमा दरिए। अभावै अभावबाट पिरोलिएका पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह, रणबहादुर, राजेन्द्र, सुरेन्द्र सबै भोगी भएर निस्किए। यी सबै राजाहरू भोगविलास र मनोरञ्जनमा रमाउँदा मुलुकले ठूलो सास्ती खेप्नुपर्यो। राजा अयोग्य हुँदा भारदारहरूले अकुत धनसम्पत्ति आर्जन गरी आफ्ना सन्ततिलाई साधारण नेपालीभन्दा सम्पन्न कुलीन र धनी बनाउन सके। यसरी सत्ता हात पारेपछि श्रीसम्पत्तिको जोहो गर्न सकिने हुँदा उनीहरूमा राजनीतिमा लाग्ने मोह बढ्न थाल्यो। सम्पत्तिले विलासितातिर उन्मुख हुने प्रवृत्ति अन्ततोगत्वा घातक सिद्ध पनि भयो।
सन् १८४६ मा जङ्गबहादुरको जाहानिया एकतन्त्रीय राणाशासनले त एक अर्को कुलीन वर्गको उदय गरायो। जङ्गबहादुर र उनका भाइका सन्ततिहरूले सम्पूर्ण मुलुकको ढुकुटी आफ्नै स्वार्थमा प्रयोग गर्दा अरू साधारण नेपाली जनताभन्दा पृथक् समुदाय खडा भयो। हिजो खान लगाउन पुगेस् पुगेस् भएका कुँवरहरू राणाजी हुँदै नवधनाढ्य भए, जसको उदाहरण राणाहरूकै दरबारले प्रस्ट बनाउँछ तर यही श्रीसम्पत्ति उनीहरूको पतनको कारण बन्यो। जङ्गबहादुरले रगतको खोलो बगाएर सत्ता प्राप्त गरे भने उनकै छोरा नातिले रगत बगाएरै सत्ताच्यूत हुनुपर्यो। राणाको सम्पत्तिकै उपयोग गरी राणाहरूकै कारण र माध्यमद्वारा राणाशासन सकियो। तर, सत्ता प्राप्त गरी सम्पत्ति कमाउने मोह भने घट्न सकेन।
संवत् २००७ सालको आन्दोलनपश्चात् धनआर्जन गर्ने नेपालको परम्परागत भनाइमा एक बुँदा थप हुन गयो। पुरातन भनाइअनुसार धन कमाउने तीन बाटा थिए ।
१. टाढाको बाटो अर्थात् व्यापारव्यवसाय,
२. बारआनाको पाठो अर्थात् पशुपालन
३. ससुरालीको बाटो अर्थात् मामाको धन फुपूको सराद्दे। २००७ सालपछि थपिएको बुँदा चाहिँ राजनीतिको बाटो अर्थात् राजनीति कमाउ धन्दा बन्न पुगेको तथ्य यसले द्योतन गरेको छ।
२००७ साल पश्चात् सम्पन्न र धनीमानी हुन सबैले राजनीतिकै मार्ग सहज र सरल ठान्न थाले। २००७ सालको आन्दोलनबाट जहानिया राणाशासन त समाप्त भयो तर राणाहरूले हिजो आर्जन गरेको धन दौलतको कारण समाजिक प्रतिष्ठामा कमी भने आएन। दरबारसँगको साँठगाँठ र धनै खर्च गरेर पनि आफ्नो वर्चस्व समाजमा कायमै राख्न सके यसको उदाहरणका लागि गोरखा परिषद्लाई लिन सकिन्छ। २००७ सालपश्चात् जनताहरूले पनि राजनीतिमा भाले हुने अवसर पाए जसको कारणबाट राष्ट्रिय सम्पत्ति दोहन गरी कुलीन वर्गमा उक्लिए। २०१५ सालमा संसदीय व्यवस्था लामो समय नटिकेकाले धेरै कमले ढुकुटी कुम्ल्याउन सके। २०१७ सालपछि राजा महेन्द्रको पञ्चायती व्यवस्थामा लाग्ने पञ्चहरूले त अन्नधुन्न कमाउन सके। जग्गाजमिन बक्स पाउने त कति हो कति लेखाजोखा गरी साध्य छैन। कथित राजभक्तले त राजधानीमै उड्ने घर र गुड्ने घर बनाउन सके भने कयौँले काठमाडौँमा नै घरबार जोडे। पञ्चायती राजनीतिमा लागेकालाई फलिफाप नै भयो। दरबारका आसेपासेहरूमा पनि आफ्नै हात जगन्नाथ हुने प्रवृत्ति मौलायो। यसरी राजनीतिमा लागेकाहरू सुकिलामुखिला, ठूलो घर भएका र चिल्ला गाडीहरूमा गुडेका देख्दा जो कोहीलाई पनि धन कमाउने एउटै बाटो राजनीति नै रहेछ भन्ने पर्न गयो।
२०४६ को आन्दोलनबाट नेपाली जनताले अपेक्षा पूरा हुने बलियो विश्वास लिएका थिए। हिजो दु:ख पाएका, जेलनेल खाएका, साधारण पहिरन र परिकारमा रमाएका राजनीतिक पार्टीका कार्यकर्ता शासनमा हर्ताकर्ता हुँदा अब दु:खका दिन गए भन्ने भान परेको थियो तर तिनै साधारण मानिस राजनीतिको सिँढी चढी सत्तामा पुगेपछि अठ्ठा लाग्यो। बंगला, गाडी, सुखसयलतर्फ उन्मुख भई हिजोका दिन चटक्कै बिर्सेर राष्ट्रिय सम्पत्ति दोहन गर्न सर्वाधिक प्राथमिकता दिन थाले। हेर्दाहेर्दै हिजोका ती साधारण मनुवा आज कुलीन हुन पुगे। राजनीतिमा लाग्ने अधिकांशले काठमाडौँलगायत विभिन्न ठाउँमा घरजग्गा मात्र जोडेनन्, विदेशका बैंकमा समेत पैसा थन्क्याउन भ्याए। राजनीतिमा लाग्नेलाई फलिफाप नै भयो। पार्टीको नाम जे गरी जति गरे पनि ‘सय खत माझ’ भयो। राजनीतिमा लाग्ने अधिकांश चिल्ला भए जनता त फुस्राको फुस्रा नै रहे। नयाँ पिढीमा पनि राजनीतिमा लागी धन कमाउने धुन सवार हुन थाल्यो। हुँदा हुँदा त विद्यार्थी नेताहरूमा समेत यही रोग लाग्यो। २०४६ साल पश्चात् विकसित अवाञ्छित राजनीतिकै उपजले माओवादी आन्दोलनले मलजल पायो । यिनै राजनैतिक पार्टीहरूको सुझबुझमा कमी र अकर्मण्यताले राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षा वृद्धि भयो। राजाको यस कार्यबाट माओवादीसहित बहुसंख्यक पार्टी एक भई २०६२(०६३ को आन्दोलन भयो। जङ्गलबाट माओवादी सहर पसी अन्य पार्टीहरूसँग सहकार्य गरी आन्दोलन सफल बनाए। राजाले घुँडा टेके। संसद् पुनस्थापना भयो। माओवादी राजनीतिको मूल प्रवाहमा आए। संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई नेपालबाट सदाका लागि बिदा गर्यो। माओवादी नेतृत्वमा सरकार बन्यो। अब जताततै यी जङ्गलीहरूको बोलवाला भयो। सर्वहाराका हिमायती विपन्नलाई सम्पन्न गराउने किसान, मजदुर, निम्नवर्गीय स्वार्थ रक्षा गर्ने प्रण गरेका तिनै माओवादी पनि सत्तामा पुगेपछि हिजो गरेको वाचा सबै बिर्सिएर विलासितातिर उन्मुख भए। माओवादीका मठाधीशहरूले त ‘सुनारको सय चोट लोहारको एकै चोट’ भन्ने आहानलाई चरितार्थ बनाए यो आन्दोलनबाट पनि जङ्गलीलाई महली बनायो।
२०७२ सालको संविधानले त राजनैतिक कार्यकर्ताहरूको बढी पृष्ठपोषण गर्यो। स्थानीय, प्रदेश र सङ्घमा चुनिने नेताहरूको स्वार्थलाई मात्र प्राथमिकता दियो। यी तिनै तहका नेताको लालनपालन गर्न नै राष्ट्रको आन्तरिक स्रोतले नभ्याएर विदेशी ऋण लिनुपर्ने स्थिति आयो। अब त नेपालमा राजनीतिज्ञलाई मात्र फलिफाप हुने हुँदा सबैको ध्यान राजनेता हुनेतिर नै देखियो। बौद्धिक पलायन ज्यामितीय ढंगले बढेको छ। बलियाबाङ्गा खाडीतिर ओहिरो लागेकालाग्यै छन्। यही अवधिमा राजनीतीकरणको कारणबाट भ्रष्टाचार मौलायो। सुशासन भन्ने त आइसल्यान्डको सर्प जस्तै बन्न पुग्यो। सर्वत्र असन्तोष, आक्रोश, कुशासन, भ्रष्टाचार, गिर्दो आर्थिक अवस्था र अन्तर्राष्ट्रिय छविमा परेको नकारात्मक असर आदिको पृष्ठभूमिमा जेन्जी आन्दोलन भयो, यसले नेपालको इतिहासमा नै आफ्नो पृथक् पहिचान बनाउन सक्यो। नेपालको आन्दोलनका इतिहास हेर्दा प्रत्येक आन्दोलनले नव कुलीन वर्ग सिर्जना गर्दै गरेको ऐतिहासिक प्रसङ्गमा यसले कस्तो नतिजा देलारु उक्त कुरा भविष्यले नै बताउला। यस आन्दोलनबाट मुलुक राजनेताका लागि मात्र फलिफाप हुने वातावरण र सोही स्थिति सिर्जना नगरोस्। नव धनाढ्य वर्ग सिर्जना नगरोस्। सुशासन होस्। हिजोका कमी कमजोरीहरू सँच्चिउन् भन्ने नै नेपालीको चाहना रहेको देखिन्छ। इतिहासबाट शिक्षा लिने वा हिजो सुपाच्य नभएको संस्कृतिलाई निरन्तरता दिने हो हेर्न बाँकी छ। जे गरे पनि अर्को कुलीन वर्ग सिर्जना नगरोस्। राजनीति पेसा होइन, सेवा हो भन्ने सन्देश दिन सकोस्। नेपाली जनताको आशीर्वाद लागोस्। जय नेपाल।


















