चीनले तिब्बतमा भइरहेको उद्धार कार्यलाई बाढीको थप जोखिमका कारण अस्थायी रूपमा स्थगित गरेको छ । बीबीसीले उल्लेख गरेअनुसार बुधबार गएको पहिरोपछि नदीमा ताल बनेको छ । अधिकारीहरूले नेपाल–तिब्बत सीमास्थित जिरोङ बन्दरगाह नजिकको क्षेत्रमा पानीको सतह बढिरहेको भन्दै निगरानी गरिरहेका छन् । यही क्षेत्रमा पहिरोपछि आएको हिलो र पानीको ठूलो भेलले सीमा क्षेत्रलाई बगाएको थियो ।
पछिल्ला केही घण्टादेखि परेको भारी वर्षाका कारण तालको बाँध फुटेर आगामी दिनमा थप बाढी आउन सक्ने चिन्ता बढेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका रिपोर्टअनुसार, जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा खटिएका उद्धारकर्मीहरूलाई हालका लागि उद्धार कार्य रोक्न निर्देशन दिइएको छ ।
तिब्बततर्फ ५५० भन्दा बढी मानिस बेपत्ता भएको बताइएको छ । तीमध्ये २६० जना विदेशी नागरिक छन्, जसमा कैलाश पर्वततर्फ तीर्थयात्रामा गइरहेका यात्रुहरू पनि रहेका छन् ।



















