५ बजेसम्म विशेष महाधिवेशनको पक्षमा २ हजार ३५ जनाले गरे हस्ताक्षर

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ५ बजेसम्म २ हजार ३५ जनाले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।