काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् ।भृकुटीमण्डपमा सुरु बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् ।बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।
बन्दसत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् । उता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बोलाएको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै सभापति शेरबहादुर देउवा पक्षले थापा र शर्मासँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी दिएको बुझिएको छ ।
सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलका लागि खटाइएको हो ।
खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरेपनि छलफल हुन नसकेको बताइएको छ ।


















