नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट केवल नीति पारित हुने दाबी गरेका छन्। सोमबार काठमाडौंमा शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीलाई उनले पार्टी फुट्न नदिन पहल भइरहेको जानकारी दिएका छन्।
डा. शर्माका अनुसार, पार्टी फुटको स्थितिमा रहे पनि सबैको चाहना पार्टी एकतामा अघि बढ्नु हो। उनले भने, “शेखर कोइरालाले आत्मसमर्पण गरेको भन्ने भ्रम फैल्याइएको छ, तर हाम्रो एजेण्डा पार्टी फुट्न नदिन र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फतै अघि बढाउनु हो।”
यद्यपि संस्थापन पक्षका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन्। अर्कोतर्फ, कोइराला पक्षका नेताहरू छुट्टै भेला गरेर पार्टी फुट्न नदिन र समाधान निकाल्न पहल गरिरहेका छन्। डा. शर्माले दुवै पक्षसँग मिलेर पार्टीलाई सुदृढ बनाउने प्रयास भइरहेको बताए।




















