निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
एस् ए एन् एन् न्यूज
२०८२ पुस ३० बुधवार १६:०२
56
shares
महेन्द्रनगर (धनुषा), ३० पुसः मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरण सम्पन्न गर्न÷गराउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । सङ्घीय गृह मन्त्रालय र मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आज जनकपुरधाममा आयोजित एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बैठकमा उहाँले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरकारका साथै सरोकार भएका निकायबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री यादवले कतिपय फरार कैन्दीबन्दी अझै बाहिर रहेकाले समाजमा त्रासको वातावरण कायम नै रहेकाले सुरक्षा पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । “अहिले कतिपय राजनीति दलको प्रदर्शन भइरहेको छ, सुरक्षा निकायका भौतिक संरचना क्षतिग्रस्त भएका छन्, लुटिएका हतियार फिर्ता आउन नसकेको वर्तमान अवस्थामा निर्वाचन गराउनु चुनौतीपूर्ण भएकाले यसतर्फ वर्तमान सङ्घीय सरकार र गृह प्रसाशनले छुट्टै संयन्त्र बनाएर शान्तिपूर्ण वातावरण बनाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री यादवले २०७५ सालमा मधेस प्रदेश सरकारले प्रहरी ऐन बनाएको बताउँदै उक्त ऐनअनुसार प्रहरी समायोजन नहुँदा प्रभावकारी रूपमा शान्तिसुरक्षा प्रत्याभूति गराउन कठिनाइ भएको बताउनुभयो । सो अवसरमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले तीनै तहको सरकारबीच समन्वय र सहकार्य भएमा कार्यसम्पादनमा सहजता आउने धारणा राख्नुभयो । उहाँले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षालगायत कार्यमा समस्या भएको उल्लेख गर्नुभयो । गोष्ठीमा मधेस प्रदेशका आठवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लागत सुरक्षा अवस्था, विद्यमान चुनौती र आसन्न निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा सङ्घीय गृह मन्त्रालयका गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव आनन्द काफ्लेलगायत उच्च पदस्थ सरकारी अधिकारी तथा कर्मचारीहरूको उपस्थिति छ । गोष्ठीले प्रदेशको समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै आगामी निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।