भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजित मुख्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले तिरंगा फहराएपछि राष्ट्रगानसँगै २१ तोपको सलामी दिइएको थियो। सोही अवसरमा ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई भारतको सर्वोच्च शान्तिकालीन वीरता पुरस्कार ‘अशोक चक्र’ बाट सम्मानित गरियो।
परेडको विशेष सांस्कृतिक विषय ‘स्वतन्त्रताको मन्त्र – वन्दे मातरम्’ थियो। पहिलो पटक दुईजना प्रमुख अतिथि सहभागी भएका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन यस पटक प्रमुख अतिथि रहे। ९० मिनेटको परेडमा विभिन्न राज्य र मन्त्रालयका ३० चयनित झाँकी प्रस्तुत गरिए।
यसपटक परेडमा कुल ६ हजार ६५ जना सहभागी थिए। फ्लाइ–पास्टमा २९ विमान (१६ लडाकु विमान, ४ परिवहन विमान र ९ हेलिकप्टर) ले प्रदर्शन गरे।
देशभरबाट २,५०० कलाकार सांस्कृतिक प्रस्तुतिका लागि सहभागी भए। सेनाका मार्चिङ कन्टिन्जेन्टसँगै पशु दल र विशेष फोर्सका युनिटहरू पनि समावेश थिए।



















