झापा पुगेर बोले बालेनले भनेः काठमाडौंमा खोला छेउका नागरिकको सुरक्षा गर्न हटाएका हौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह आफ्नो चुनावी प्रचारका लागि झापा ५ मा पुगेका छन् । उनले त्यहाँ पुग्नासाथ आज केही स्थानीयसँग संवाद गरेका छन् । उनले झापा कमलगाउँपालिकाका सुकुमबासीको गुनासो सुनेर जवाफसमेत दिएका थिए ।

सुकुमबासी युवाहरूको मुख्य चासो बालेनले जितेको खण्डमा आफूहरूको बस्तीमा डोजर छिराएर उठीबास लगाउने हुन् कि भन्ने थियो । बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए ।

उनले भने, ‘काठमाडौंको खोलाछेउको सार्वजनिक जग्गा हो । त्यो खोलाकै जग्गा हो । उहाँहरूकै ज्यानको सुरक्षाका लागि हटाएका हौँ । बाढी आउँदा बस्तीभन्दा माथिसम्म आउँछ । बर्खा लाग्दा असारमा निकालेर अर्को ठाउँ लैजानुपर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो । तर, डोजरको गलत न्यारेटिभ बनाइयो ।’