जनता समाजवादी पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ३२ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष अशोक कुमार राई ले प्रतिबद्धतापत्र चुनावी घोषणामात्र नभई पार्टीको राजनीतिक विचार, दृष्टिकोण र कार्यदिशा समेटिएको दस्तावेज भएको बताए। उनले राजनीतिक स्थायित्व र प्रत्यक्ष लोकतन्त्रका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको धारणा राखे।
प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था, संविधान संशोधन, समावेशी प्रतिनिधित्व, जनलोकपाल गठन, समाजवादी अर्थनीति, ऊर्जा आत्मनिर्भरता, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पर्यटन विकास तथा संघीय संरचनामा प्रदेश र स्थानीय तहलाई थप अधिकार दिने विषयलाई प्राथमिकतामा राखिएको छ।


















