हामी  चुनाव होस् भन्ने पक्षमै छौं तर चुनाव स्थगित हुन पनि सक्छ , केपी शर्माओली

 

 

 

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए ।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेकोतर्फ ध्यानाकर्षण पनि गराए ।

‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ ।

विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको   तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको ओलीको भनाइ छ ।

‘६ महिना हामीले कोशिस गर्‍यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पर्थ्यो अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पर्थ्यो भइ नै सक्यो,’ ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गरे ।