विगतको सत्ता समीकरण गलत थियो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा एमालेसँग मिलेर सरकार बनाउनु रणनीतिक रूपमा गलत निर्णय भएको बताएका छन्। रौतहट क्षेत्र नम्बर ४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सत्ता सहकार्यको अभ्यासबाट अपेक्षित राजनीतिक स्थिरता हासिल नभएको उल्लेख गरेका छन् ।

थापाले संसद्‌को अंकगणित र सत्ता समीकरणको प्रसङ्ग उठाउँदै साना दलहरूले ठूलो पदको दाबी गर्दा बनेको गठबन्धनले झन् जटिलता बढाएको टिप्पणी गरेका छन् । ३२ सिट रहेको माओवादीले प्रधानमन्त्रीको दाबी र २२ सिट रहेको रास्वपाले गृहमन्त्री पदको आकांक्षा राखेको अवस्थामा कांग्रेसले एमालेसँग सहकार्य गर्नु थप त्रुटिपूर्ण निर्णय भएको उनको भनाइ थियो।

उनले विगतका राजनीतिक सहकार्यहरूलाई आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सबै दलहरूले आ-आफ्ना निर्णयमा गल्ती गरेको स्वीकार गर्नुपर्ने बताए। “अहिले कसैले फुर्ती लगाउने अवस्था छैन,” भन्दै थापाले प्रमुख दलहरू-कांग्रेस, एमाले, माओवादी र रास्वपा सबैले विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे। उनका अनुसार अबको राजनीतिक मार्ग स्थिरता, सहमति र स्पष्ट नीति केन्द्रित हुनुपर्छ। चुनावी कार्यक्रममा उनले आगामी दिनमा जिम्मेवार निर्णयमार्फत मात्रै मुलुकको राजनीति सही दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।