चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्। घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी सोबिता गौतमले १७ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ९ हजार ८ सय १४ मतको भारी अन्तरले पछाडि पारेकी छन्।
प्रारम्भिक चरणदेखि नै अग्रता लिएकी गौतमले मतान्तर बढाउँदै लगेकी छन्। दोस्रो स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन्। दाहालको मत सम्मानजनक भए पनि शीर्ष स्थानमा रहेकी गौतमसँगको मतान्तर ९ हजारभन्दा बढी पुगेकाले नतिजा उल्ट्याउन निकै कठिन देखिन्छ।
यस निर्वाचन क्षेत्रमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको नतिजा भने कमजोर देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले जम्मा २ हजार १ सय ३९ मत प्राप्त गरेका छन्। उनी शीर्ष स्थानकी उम्मेदवार सोबिता गौतमभन्दा १५ हजार ७ सय १२ मतले पछाडि परेका छन्।















