युद्ध अन्त्य गर्ने ट्रम्पको संकेतपछि एसियाली शेयर बजारमा उछाल, तेलको मूल्य पनि घट्‌ने सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि एसियाली शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । हङकङको ह्याङ सेङ इन्डेक्ससहित चीन, जापान र दक्षिण कोरियाका बजारहरूमा प्रारम्भिक कारोबारमै उछाल आएको छ । विश्लेषकहरूका अनुसार यो ‘रिलिफ र्‍याली’ हो, जहाँ लगानीकर्ताहरूले युद्ध अन्त्यतर्फ प्रगति हुने आशामा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसैबीच, ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य करिब १०४ डलर प्रतिब्यारेलमा स्थिर रहेको छ, जुन युद्धअघि भन्दा अझै उच्च हो । मार्च महिनामा मात्र ब्रेन्ट तेलको मूल्य करिब ६० प्रतिशतले वृद्धि भएको छ ।

विश्लेषकहरूले बजारमा केही विश्वास बढेको बताए पनि ठोस प्रगति नदेखिएसम्म सतर्कता कायम रहने बताएका छन् । साथै, तेल बजारमा आगामी दिनहरूमा उतारचढाव जारी रहने सम्भावना रहेको उल्लेख गरिएको छ ।