कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक

सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसन बाट जारी परिचयपत्रका आधारमा हुँदै आएको सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा कानुन मन्त्रालय को परिपत्रअनुसार कानुन व्यवसायीको प्रवेशमा रोक लगाइएको जानकारी बारका महासचिव केदार कोइरालाले दिएका छन्।

२०४६ सालदेखि बारको परिचयपत्रकै आधारमा प्रवेश दिँदै आएको व्यवस्था नयाँ सरकार आएपछि कडाइ गरिएको हो। सिंहदरबारभित्र प्रशासकीय अदालत, मन्त्रालय तथा संसदीय सुनुवाइ समितिमा नियमित उपस्थिति हुने भएकाले यसअघि रोक थिएन।

यस निर्णयप्रति आपत्ति जनाउँदै बारका अध्यक्ष विजयप्रसाद मिश्रले कानुन सचिव र गृह सचिवलाई ध्यानाकर्षण गराएका छन्। बारले महान्यायाधिवक्ता, प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई पनि पत्र पठाउने तयारी गरेको छ।

साथै, प्रशासकीय अदालतले जारी गरेको सूचनाअनुसार अब कानुन व्यवसायीले नागरिक एपमार्फत सिंहदरबार गेट पास लिएर मात्र प्रवेश गर्नुपर्नेछ भने मुद्दाका पक्ष वा वारेसले तारिख पर्चाका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको छ।