अनुगमनपछि बागमती स्विट्सको बिक्री वितरण बन्द

काठमाडौं महानगरपालिका-११ मा रहेको बागमती स्विट्स प्रा.लि.को उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो निर्णय गरेको हो ।

अनुगमनका क्रममा सरसफाइ कमजोर हुनुका साथै ड्राइफ्रुट्स प्याकिङका लागि राखिएको बदाममा कीरा भेटिएको थियो। टोलीले करिब ५ किलो दूषित बदाम जफत गरी नष्ट गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उद्योगको उत्पादन र बिक्री अर्को आदेश नभएसम्मका लागि रोक्का गरिएको छ ।

साथै, सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।