चुनावमा तपाईँहरूको पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन, यसको समीक्षा कसरी गर्नुभएको छ?
संयुक्त नागरिक पार्टी उत्पीडित समुदायको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले स्थापना गरेका हौँ। हाम्रो लक्ष्य विभेद, दमन र बहिष्कारको अन्त्य गर्दै समतामूलक र समृद्ध राष्ट्र निर्माण गर्नु हो। हामीले २०८० सालबाट विभिन्न संगठन र शक्तिहरूलाई एकीकृत गरेर पार्टी निर्माणको प्रक्रिया सुरु गरेका थियौँ। २०८४ को निर्वाचनमार्फत स्थापित हुने र २०८९ सम्म बलियो शक्ति बन्ने हाम्रो लक्ष्य थियो। तर यो बीचमै पुराना पार्टीले गरेको बेथितिका विरुद्ध जेनजी पुस्ताले विद्रोह ग¥यो। पुराना पार्टीमा एउटै वर्ग र जातिको वर्चस्व रह्यो। उनीहरूमा नातावाद, कृपावाद देखियो, जसको कारण भ्रष्टाचार र अनियमितता बढ्यो। यसको विरुद्ध २०८२ भदौ २३ र २४ मा जेनजी विद्रोह भयो। यसले पितृसत्तात्मक राज्यको अन्त्य गरी सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो। यो ऐतिहासिक छलाङ हो। पुरानो सत्ताको क्रम भंगता हो। कार्की नेतृग्वको सरकारले २०८२ फागुन २१ मा चुनाव ग¥यो। हाम्रो पार्टी पूर्ण रूपमा संगठनात्मक रूपले तयार नभएकै अवस्थामा चुनाव आयो। संगठन विस्तार, जनसम्पर्क र चुनाव चिन्हको प्रचार पर्याप्त हुन सकेन। संगठन विस्तार गर्न सकेका थिएनौँ। यही कारणले अपेक्षित परिणाम आउन सकेन।
भनेपछि पार्टी निर्माणकै चरणमा चुनाव आउँदा परिणाम प्रभावित भयो?
हो, हामीले २१ जना प्रत्यक्ष र ५९ जना समानुपातिक उम्मेदवार उठाएका थियौँ। तर संगठन कमजोर हुँदा मतदातासम्म पुग्न सकेनौँ। उम्मेदवारहरूमा जित्ने उत्साह थियो, “म सांसद हुन्छु” भन्ने थियो। तर व्यवहारतः संगठनको आधार कमजोर थियो। चुनाव चिन्हकै प्रचार भएको थिएन, जसले गर्दा सोचेजस्तो परिणाम आएन। पुराना पार्टी पनि चुनाव जितेपछि जनतामा जाँदैनथे। हामी पनि एकैचोटी चुनावमा “म फलानो पार्टी, मेरा चुनाव चिन्ह यो” भनेर गयौँ। जनतासम्म पुग्न र आफ्ना कुरा बुझाउन समय पाएनौँ, जसले गर्दा सोचेजस्तो परिणाम आएन। सोचेजस्तो परिणाम नआएपछि स्वाभाविक रूपमा साथीहरूमा निराशा पैदा भयो।
चुनावी परिणामको पार्टीभित्र समीक्षा कसरी भयो?
२०८२ फागुन २१ को निर्वाचनको नतिजा आएपछि हामीले तुरुन्तै चैत ५ गते समीक्षा बैठक ग¥यौँ। चुनावी नतिजाका कारण धेरै साथीहरूमा असन्तुष्टि थियो—नेतृत्वले व्यवस्थापन गर्न सकेन, स्रोत जुटाउन सकेन भन्ने गुनासो आयो। हो, साधन स्रोत थिएन, तर लोकतान्त्रिक पार्टी भएपछि चुनावमा त जानै पर्यो। गयौँ पनि, तर सोचेजस्तो परिणाम आएन। समीक्षा बैठकमा साथीहरूबाट असन्तुष्टि आयो—नेतृत्वले व्यवस्थापन गर्न सकेन, स्रोत जुटाउन सकेन भन्ने गुनासो आयो। त्यसपछि हामीले २०८२ चैत २५ र २६ गते पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक बोलायौँ। बैठकमा अध्यक्षको रूपमा मैले आगामी कार्यदिशासहित राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेँ। संगठन विस्तार कसरी गर्ने भनेर योजना पनि पेस गरेँ। साथै, चुनाव हारको नैतिक जिम्मेवारी लिँदै बैठकमा मैले राजीनामा पनि पेश गरेँ।
तपाईंको राजीनामा के भयो?
राजीनामा दिएपछि २०८२ चैत्र २३ देखि २५ गतेसम्म राजीनामामाथि बृहत छलफल भयो। केहीले राजीनामा स्वीकार गर्नुपर्ने भन्नुभयो, केहीले अस्वीकार गर्नुपर्ने भन्नुभयो। अन्त्यमा राजीनामा स्वीकार गर्ने कुरा भयो। तर समस्या के आयो भने राजीनामा पास गर्ने, तर वैकल्पिक नेतृत्व लिन कोही पनि तयार नहुने। त्यसपछि मैले स्पष्ट पारेँ कि राजीनामाको उद्देश्य मार्गप्रशस्त गर्नु हो—पदाधिकारी वा अरू साथीले नेतृत्व लिनुस् भनेर। तर नेतृत्व लिन कोही तयार नभएपछि पार्टीलाई संकटमा पार्ने कुरा भएन। कोही नेतृत्व लिन तयार नभएपछि मैले महाधिवेशनमा जाऊँ, एक भोट आए पनि म केन्द्रीय अध्यक्षमा लड्छु भनेपछि बैठकमा महाधिवेशनमा जाने निर्णय भयो। कोही नेतृत्व लिन तयार नभएपछि पुनः मलाई नै महाधिवेशन आयोजक समितिको संयोजक बनाइयो। २०८३ कात्तिक ११–१३ गते महाधिवेशन गर्ने निर्णय भएको छ। नेतृत्व लिएपछि गाली र ताली दुवै पचाउन सक्नुपर्छ। महाधिवेशन आयोजक समितिमा १० जनाको सचिवालय र हिजोका केन्द्रीय समिति सदस्यदेखि सबै संरचनाका साथीहरू आयोजक समितिमा रहने निर्णय भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यस्तो सफलता अपेक्षा गर्नुभएको थियो?
रास्वपाले यति ठूलो सफलता पाउला भन्ने सोचेका थिएनौँ। तर एउटा पार्टीले बहुमत ल्याउनुपर्छ र त्यो संयुक्त नागरिक पार्टी हुनुपर्छ भन्ने थियो। तर हामीले सोचेजस्तो परिणाम ल्याउन सकेनौँ। आम जनता र जेनजी पुस्तामा परिवर्तनको चाहना थियो। जनताको यही चाहनाअनुसार परिणाम आयो, यसमा रास्वपाले बाजी मार्यो। नेपालको इतिहासमा यो ऐतिहासिक घटना हो। यद्यपि रास्वपाको जित उनीहरूको संगठन वा दर्शन राम्रो भएर भन्दा पनि बढी पुराना दलका केही औँलामा गनिने नेताको अक्षमतालाई कारण हो—सबै नेता होइन। पुराना दल र नेताहरूको असफलता, भ्रष्टाचार, नातावाद र अहंकारको परिणाम हो। जनताले विकल्प खोजेका थिए—त्यही विकल्पका रूपमा रास्वपा आयो।
अहिलेको सरकार र प्रधानमन्त्री बालेन शाहको कामलाई कसरी हेर्नुभएको छ?
रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार बन्नु आफैँमा ऐतिहासिक परिवर्तन हो। यो नेपाली राज्य सत्ताको क्रम भंगता हो। एउटा उत्पीडित समुदाय, मधेशको तेली समुदायबाट देशको कार्यकारी प्रधानमन्त्री बन्नु सकारात्मक कुरा हो। म उहाँलाई बधाई दिन चाहन्छु। दोस्रो, सुदन गुरुङ गृहमन्त्री होलान भनेर कसैले पत्याएका थिएनन्। अहिले पनि कतिले भन्छन्—गृहमन्त्री सुदनलाई नबनाएको भए हुने थियो भनेर। म उहाँलाई पनि बधाई दिन चाहन्छु। रास्वपाको भिजन र दर्शन स्पष्ट छैन, तर अहिले भ्रष्टाचारी, अपराधी, गुण्डागर्दीविरुद्ध जसरी कारबाही सुरु भएको छ, राम्रो र ऐतिहासिक कदम हो। तर काम गर्दा कानुनी प्रक्रिया, दीर्घकालीन प्रभाव र संवेदनशीलता पनि ध्यान दिनुपर्छ। यो दुईतिहाइको सरकार छ, यसका अगाडि धेरै सम्भावना छन्। राम्रो गरे सबैले साथ दिन्छन्।
संविधान संशोधनबारे तपाईंहरूको धारणा के छ?
संविधान संशोधन आवश्यक छ। यदि बालेन सरकार तयार छ भने हामी साथ दिन तयार छौँ। तर संविधान संशोधन गर्दा कुन भिजनसहित संशोधन गर्ने स्पष्ट हुनु पर्दछ। एउटा व्यक्तिलाई जिम्मा दिएर हुँदैन। त्यस्तो संविधान संशोधन व्यापक सहभागितासहित हुनुपर्छ। दलहरू मात्र होइन, उत्पीडित समुदाय, नागरिक समाज र सरोकारवालाहरूलाई समेट्नुपर्छ। गाउँ–गाउँ पुगेर जनताको मत बुझ्नुपर्छ। संशोधनका नाममा संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने प्रयास भएमा हामी त्यसको विरोधमा उभिन्छौँ। हाम्रो चाहना त संघीयता, धर्मनिरपेक्षता र समावेशिता अझ मजबुत बनाउनु हो। यसलाई कमजोर पार्न खोजे सह्य हुँदैन। हाम्रो चाहना त अझ “दश प्लस एक” हो। रास्वपाले राम्रो गरे अरू पार्टी किन चाहियो—देशलाई राम्रो जसले गरे पनि हुन्छ। लोकतन्त्रमा पार्टी चाहिन्छन्, तर राम्रो गरे जुन पार्टी भए पनि हुन्छ।
अहिलेको सरकारलाई तपाईंको सन्देश के छ?
सरकारले राम्रो काम गरिरहेको छ, तर अझै सचेत र जिम्मेवार ढंगले काम गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ठोस काम गर्नुपर्छ। “ढिलो भए पनि राम्रो काम होस” भन्ने सिद्धान्त अपनाउन आवश्यक छ। भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, तर प्रक्रिया पनि पूरा गर्नुपर्छ। भोक लाग्यो भनेर तातो पिँडालु मुखमा हाल्नु भएन—त्यसो गरे त पोल्छ।
संयुक्त नागरिक पार्टीको आगामी योजना के छ?
अब हाम्रो मुख्य ध्यान संगठन सुदृढीकरण र महाधिवेशनमा छ। २०८३कात्तिक ११–१३ गते हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। पार्टी पूर्ण रूपमा लोकतान्त्रिक छ—जो कोही पनि अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवार बन्न सक्छ। हामी सबैलाई आह्वान गर्छौँ—आफ्नो स्पष्ट राजनीतिक कार्यदिशा र योजना लिएर प्रतिस्पर्धामा आउनुहोस् भनेर। बैठक बसेर आयोजक समितिका साथीहरूलाई ठोस जिम्मा दिन्छौँ। हामी प्रेम र क्षमामा विश्वास गर्दछौँ। अब हिजो कसले के भन्यो त्यो बिर्सेर सबै नयाँ तरिकाले अगाडि बढ्नुपर्छ। अन्तरर्वाको लागि शिर्षक


















