कांग्रेसको अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । अनुशासन समितिको सोमबार (आज) दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

अनुशासन समितिका एक सदस्यले बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता हुने सङ्केत गरे ।
उनले खड्काको स्पष्टीकरणका सम्बन्धमा सभापति गगन थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेको पनि बताए । खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ । आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए ।

खड्काले भने आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए ।