सिंहदरबार प्रवेश विवरण माग्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले दैनिक रूपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना अधिकृतहरूको विवरण उपलब्ध गराउन नेपाल प्रहरी हेडक्वार्टरसँग औपचारिक अनुरोध गरेको छ।

पछिल्लो समय सशस्त्रका केही अधिकृतहरू बाह्य भेटघाटका लागि सिंहदरबार प्रवेश गरेको सूचनापछि विवरण माग गरिएको हो। सिंहदरबारमा नेपाल प्रहरीको एसपी नेतृत्वको सुरक्षा गणले प्रवेश गर्नेहरूको रेकर्ड राख्ने व्यवस्था छ। सशस्त्र प्रहरी नियमावलीअनुसार अनुमति बिना राजनीतिक, कूटनीतिक वा उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्न पाइँदैन। नियम उल्लंघन भए विभागीय कारबाही हुने प्रावधानसमेत रहेको छ।

यसैबीच, अनुमति बिना सिंहदरबार प्रवेश गरेको आशंकामा सशस्त्र प्रहरी बलले दुई एसएसपी र एक एसपीलाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण आएपछि थप प्रक्रिया अघि बढाइने बताइएको छ।