काँग्रेस अनुशासन समितिको स्पष्टिकरणः नेता खड्कालाई सोधिएको स्पष्टिकरण फिर्ता लिन सकिँदैन

नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ । पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टिकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् ।

पार्टी मुख्यालय सानेपामा सोमवार अपरान्ह सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ७ दिनका लागि उहाँमाथि सोधिएको स्पष्टिकरणको म्याद अझै २ दिन भएकाले यस बीचमा अरु अन्य कुनै पनि निर्णय गर्न नसकिने अडान राखे । पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हटन नमिल्ने संयोजक गुरुङको भनाई थियो । संयोजक गुरुङले भने,‘स्पष्टिकरणको प्रक्रिया भनेको हामी लिखित रुपमा अगाडि बढेपछि त्यसको विधि छ, प्रक्रिया छ । मैले फेरी पनि दोहो¥याएर भने-आज ५ दिन भयो । अझ २ दिन बाँकि छ । सात दिन पुग्छ ।

सात दिन पुगेपछि त्यो विधि र प्रक्रिया फेरि आफ्नो बाटोबाट अगाडि बढछ । स्पष्टिकरण नदिने कुरा कल्पना पनि गर्न सकिदैन । हामी विधान बमोजिम चलिराखेको छ । यो व्यक्तिको कुरा होइन, संस्थाको कुरा हो । यो पार्टी हो, जनताको पार्टी हो । जनताको लागि नेतृत्व गर्ने पार्टी हो । नेपाली काँग्रेस भनेको इतिहास बोकेको पार्टी हो । त्यसले गर्दा यहाँ व्यक्तिको कुरा नै आउँदैन । र, यो कसैलाई रिसइवी साँध्ने ठाउँ होइन । नेपाली काँग्रेसको अनुशासन समिति भनेको पार्टीको उच्च तहको निर्णय हो ।’

नेता खड्कालाई समितिको बैशाख २ गते बसेको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेता खड्काले स्पष्टिकरण सोध्ने अनुशासन समितिको निर्णय वैधानिक नभएको भन्दै अस्विकार गरेका थिए ।