काठमाडौं , विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस २०८३ को अवसरमा आयोजित एक विशेष कार्यक्रममा सर्जकहरूको बौद्धिक सम्पत्तिको संरक्षण, पुस्तक संस्कृतिको प्रवद्र्धन र डिजिटल युगका चुनौतीहरूको सामना गर्ने विषयमा व्यापक छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पुस्तकलाई केवल ज्ञानको स्रोत मात्र नभई समाजको बौद्धिक र सांस्कृतिक विकासको आधार स्तम्भका रूपमा व्याख्या गरे। उनले सर्जकहरूको श्रम र सिर्जनाको सम्मान गर्दै प्रतिलिपि अधिकार संरक्षणलाई अझ प्रभावकारी बनाउनु आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्नु भयो ।
उहाँले डिजिटल प्रविधिको तीव्र विकाससँगै अनधिकृत सामग्री प्रयोग, कपी-पेस्ट प्रवृत्ति तथा बौद्धिक सम्पत्ति चोरीका घटनाहरू बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सुदृढ कानुनी र प्रविधिमैत्री प्रणाली आवश्यक भएकोमा जोड दिनु भयो । मन्त्रालयले यस दिशामा नयाँ नीतिगत तथा कानुनी सुधारका पहलहरू अगाडि बढाइरहेको जानकारी समेत उहाँले दिनुभयो ।
कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार सविता कार्कीले प्रतिलिपि अधिकारको ऐतिहासिक पृष्ठभूमि, कानुनी व्यवस्था र यसको महत्त्वबारे प्रकाश पार्नु भएको थियो। उहाँले सन् १९९५ देखि विश्वव्यापी रूपमा मनाइँदै आएको यस दिवसले लेखक, कलाकार, संगीतकार लगायत सम्पूर्ण सर्जकहरूको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।
नेपालको सन्दर्भमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ कार्यान्वयनमा रहेको जानकारी दिँदै,रजिस्ट्रार कार्कीले रचना दर्ता प्रक्रिया अझ सरल र प्रविधिमैत्री बनाइएको उल्लेख गर्नु भयो । अहिले अनलाइन माध्यमबाट नै रचना दर्ता गर्न सकिने, न्यून शुल्कमा प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानाकारी दिनु भयो ।
उहाँका अनुसार हालसम्म ३ हजारभन्दा बढी विभिन्न विधाका रचनाहरू दर्ता भइसकेका छन्। यसमा साहित्य, संगीत, कला, सफ्टवेयर, फोटोग्राफी लगायत विविध क्षेत्रका सिर्जनाहरू समावेश छन्। यसले सर्जकहरूमा आफ्नो अधिकारप्रति सचेतना बढ्दै गएको संकेत गरेको छ। कार्यक्रममा बौद्धिक सम्पत्ति सम्बन्धी कानुनका विज्ञ तथा अधिवक्ता राजकुमार सुवालले आफ्नो विशेष प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बौद्धिक सम्पत्ति उल्लंघनका घटनाहरू-जस्तै अनुमति बिना गीत-संगीत प्रयोग, पुस्तक पुनःप्रकाशन, चलचित्रको अनधिकृत प्रसारण-बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिएको थियो। यस्ता समस्याहरू समाधान गर्न सम्बन्धित निकायबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिइयो।
त्यसैगरी, रोयल्टी संकलन तथा वितरणका लागि कार्यरत संस्थाहरूको भूमिकाबारे पनि चर्चा गरिएको थियो, जसले सर्जकहरूलाई आर्थिक रूपमा पनि सशक्त बनाउन सहयोग पुर्याउँदै आएका छन्।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका रजिष्टार धन प्रसाद सुबेदीले स्वागत मन्तब्य राख्दै कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका भूमिका पनि उल्लेख गर्नु भएको थियो । भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्रको संरक्षण तथा विकासमा क्रियाशील प्रतिष्ठानले अध्ययन, अनुसन्धान र प्रकाशनमार्फत ज्ञान उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमको सभापतित्व प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयकी रजिस्ट्रार सविता कार्कीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा सोही मन्त्रालयका सह–सचिव सुरेश श्रेष्ठ सहभागी हुनुभएको थियो। साथै, पाठ्यक्रम विकास केन्द्र सानोठिमीका महानिर्देशक युवराज पौडेलले पनि विशिष्ट अतिथिको रूपमा सहभागि हुनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक व्यक्तित्वहरू तथा सदस्य सचिवसहितका कर्मचारीहरूको उपस्थिति रहेको थियो।सो अवसरमा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको समेत व्यापक सहभागिता रहेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचिवालय, उद्योग विभाग लगायतका निकायका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थित रहेको थियो ।
त्यस्तै कार्यक्रममा , शैक्षिक तथा पुस्तकालय क्षेत्रबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय भक्तपुर, केशर पुस्तकालय काठमाडौं, मदन पुरस्कार पुस्तकालय तथा डिल्लीरमण–कल्याण रेग्मी स्मारक पुस्तकालय विकास समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा साहित्य, संगीत तथा प्रकाशन क्षेत्रबाट साझा प्रकाशन, नेपाल लेखक संघ, प्रगतिशील लेखक संघ, स्रष्टा समाज नेपाल, संगीतकार संघ नेपाल, तथा राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थयो । साथै, लोक दोहोरी प्रतिष्ठान, संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल तथा संगीत तथा चलचित्र उत्पादक समाज नेपालका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो छलफलमा सहभागि वक्ताहरूले सर्जकको सम्मान, प्रतिलिपि अधिकारको कडाइका साथ कार्यान्वयन र प्रविधिसँगै विकसित हुने नयाँ चुनौतीहरूको समाधानका लागि निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन । उनीहरुले बौद्धिक सम्पत्तिको संरक्षण, प्रवद्र्धन र यसको कानुनी पक्षबारे सरोकारवालाहरूबीच सहकार्य र संवादको आवश्यकता रहेको समेत औंल्याएका छन ।


















