सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेको छ ।

कार्यवाहक राजदूत अर्बमको भेटमा नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । राजदूत अर्बमले नेपालमा सूचना प्रविधिको विकासका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताए । साथै, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उपयुक्त नीति तथा सहज लगानी वातावरण निर्माण गर्न सके वैदेशिक लगानी आकर्षित हुने धारणा उनले व्यक्त गरे ।

उक्त अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल र अमेरिका सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको योगदानका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल राजनीतिक स्थायित्वको नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार सुशासन, पारदर्शिता तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । साथै, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार इच्छुक रहेको र त्यसका लागि आवश्यक नीतिगत तथा नियामक सुधार तीव्र रूपमा अघि बढाइएको बताए ।

त्यसैगरी, कोरियाली राजदूत पार्क ताइयङको भेटमा नेपालको डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । राजदूत पार्कले कोरियाले सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरे । सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण भएमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने उनको भनाइ थियो ।

राजदूत पार्कले रोजगार अनुमति प्रणाली ९इपीएस० मार्फत ठूलो सङ्ख्यामा नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिएको उल्लेख गर्दै यसले आर्थिक लाभका साथै सीप तथा ज्ञान हस्तान्तरणमा समेत सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै, कोरियाले नेपालको डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए।

सो अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल–दक्षिण कोरिया सम्बन्ध आपसी विश्वास र सद्भावमा आधारित रहेको उल्लेख गर्दै कोरियाले नेपालको विकासमा पुर्याएको सहयोगको प्रशंसा गरे । उहाँले सरकारी तथ्याङ्क पूर्वाधार तथा क्लाउड टेक्नोनोजीमा आधारित सेवाको सुदृढीकरणमा कोरियाली सहयोगप्रति आभार व्यक्त गरे । साथै, कोरियाली लगानीकर्ताहरूलाई नेपालमा सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा सम्बन्धित दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।