काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर आपत्ति जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा यस्ता गतिविधिले निजी क्षेत्र निरुत्साहित मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।
वक्तव्यमा निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र रोजगारीमा ८६ प्रतिशत हिस्सा ओगटेको उल्लेख गर्दै यस्तो क्षेत्रमा त्रास सिर्जना हुँदा रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ प्रणाली तथा पूर्वाधार विकासमा गम्भीर असर पर्ने बताइएको छ।
नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्र उद्योगी–व्यवसायीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै, आर्थिक कसुरका विषयमा पहिले सुनुवाइ गर्ने र दोष प्रमाणित भएपछि मात्र कारबाही गर्ने विधि अपनाउन सरकारसँग आग्रह गरिएको छ।
उद्यमीहरू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार हुँदाहुँदै पनि पक्राउ गरिनुले निजी क्षेत्रलाई चिन्तित बनाएको वक्तव्यमा उल्लेख छ। साथै, यस्ता गतिविधिले लगानीकर्तामा असुरक्षा पैदा गरी लगानी वातावरण कमजोर बन्न सक्ने जनाइएको छ।
सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समावेश गर्ने प्रयासलाई सकारात्मक रूपमा लिइएको भए पनि, हालको अवस्थाले त्यो विश्वास कमजोर बनाएको निजी क्षेत्रको भनाइ छ।
संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म दोषी नमानिने सिद्धान्तको सम्मान गर्न सरकारलाई आग्रह गर्दै निजी क्षेत्रले व्यवसायमैत्री वातावरण निर्माण गर्न पुनः जोड दिएको छ।
विगत केही वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई चलायमान बनाउन स्थिर सरकारबाट सकारात्मक नीति र व्यवहारको अपेक्षा गरिएको उल्लेख गर्दै, निजी क्षेत्रको लगानी र उद्यमशीलताबाट मात्र देशको समृद्धि सम्भव हुने निष्कर्ष वक्तव्यमा प्रस्तुत गरिएको छ।


















