अच्युतप्रसाद पौडेल ‘चिन्तन’
जन्मना जायते शुद्र कर्मणा द्विज उच्यते । वेदाध्यायी भवेत् विप्रः ब्रह्म जानाति ब्राह्मणः।। अर्थात् जन्मले सबै अशुद्ध हुन्छन्, कर्मले द्विज हुने, वेदको अध्ययनले विप्र र ब्रह्म जान्नाले ब्राह्मण बन्ने हुन्छ । ब्रह्म र वेदका बारे यसअघिका श्रृँखलामा चर्चा भएको छ । यहाँ नश्वर र ईश्वर, जीव र जगदीश्वर, माया र जीव अनि भक्त र भगवान अनि भक्तिका विषयमा हल्का चर्चा हुनेछ । मानिसले भुक्ति, भक्ति र मुक्ति चाहेको हुन्छ ।
जीव र जगत् भनौँ नश्वर र ईश्वरका बीच दरार हुन्छ, त्यो दरार भनेको माया हो । मायारुपी बन्धनलाई नतोडेसम्म ईश्वर पाइन्न । त्यो बन्धन तोड्ने काम गुरुले गर्छ । अतः गोविन्द प्राप्तिमा गुरुको आबश्यक हुन्छ । गुरुले पुलको काम गरेको हुन्छ । मन्दिरमा पुजारी भएभैmँ बाटो देखाउने काम गुरुले गर्छ, गकार अन्धकार र रकार उज्यालोका रुपमा हेरिने गरिन्छ । ब्राह्मण कुलले बा जातले हुने होइन, सम दृष्टि हुनु भनेको ब्राह्मण हुनु हो, सद्गुण र सदाचार, आत्मज्ञान ब्राह्मणको गुण हो, जीव र जगत्, जीव र शिव, नश्वर र ईश्वर जानेको ब्रह्मज्ञानी नै ब्राह्मण हुन्छ । कर्म मात्रैले पनि ब्राह्मण भइँदैन द्विजसम्म पुगिन्छ, यो दोस्रो चरण मात्र हो, चार चरण भनौँ चार ठूला पर्खाल तोडेपछि मात्र ब्राह्मण हुने हो, शब्दले भन्नु पर्दा भने द्विज, विप्र दुबै ब्राह्मणकै अर्थ हुन्छ । सूक्तिले भनेको छ यः सर्वभूतेषु आत्मानं पश्यति सः ब्राह्मणः अर्थात् सबैलाई भेदरहित दृष्टिले हेर्छ, व्यवहार गर्छ ऊ ब्राह्मण हो । सूक्त अगाडि भन्छः न देहेन न कुलेन नजात्या ब्राह्मणत्वम् । संसार भनौँ ब्रह्माण्ड बुझेको ब्रह्मज्ञानी नै ब्राह्मण हो । उपनिषद् सूत्र भन्छ ब्रह्मविद् ब्रह्मैव भवति स एव ब्राह्मणः । ब्राह्मणमा केही स्थायी गुणहरु हुन्छन्ः शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेवच । ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।। अर्थात् शम मनमा शान्ति, दम इन्द्रियको नियन्त्रण, तपमा शुद्धता, क्षमा र सरलता, सहजता, ज्ञान र विज्ञानले पूर्ण, आस्तिक र ब्रह्मकर्मको स्वभाव जसमा हुन्छ ऊ ब्राह्मण हुन्छ । भागवतले भनेको छ अहँ सर्वेषु भूतेषु, अर्थात् ईश्वर हर जीवात्मामा निहीत हुन्छ ।
भज् धातुबाट भक्ति शब्द बन्छ, भक्ति भनेको सामान्यतया भज्नु भन्ने अर्थ लाग्छ, यसको अर्थ हुन्छ सेवा, भगवत् सेवा । सेवाबाट जीवले मेवा पाउन खोज्छ, त्यो भनेको मुक्ति हो । भक्ति दुई प्रकारको हुन्छ कामनापरक भक्ति सकाम र कामनारहित भक्ति निस्काम हो । दोस्रो भक्ति सर्वश्रेष्ठ हुन्छ । मुक्ति भने ५ प्रकारको हुन्छ सालोक्य मुक्ति, साष्र्टि मुक्ति, सामिप्य मुक्ति, सारुप्य मुक्ति र सायुज्य मुक्ति । ईश्वरकै लोक प्राप्ति र त्यहीँ बस्न पाउनु सालोक्य हो, ईश्वरकै सरहको ऐश्वर्य भनौँ वैभव प्राप्ति साष्र्टि हो, ईश्वरकै नजीक, साथै रहन पाउनु सामीप्य मुक्ति, ईश्वरकै रुप, आकार, प्रकार प्राप्ति भनेको सारुप्य हो र सायुज्य भनेको ईश्वरमै मिलन हो । सर्वश्रेष्ठ भक्तले यी ५ प्रकारकै मुक्ति खोज्दैनन् बरु निरन्तर ईश्वरकै सेवा चाहन्छन्, असल र श्रेष्ठ भक्तिको यो विलक्षण प्रतिभा हो, ईश्वर खुसी हुँदा नमागीकनै सर्वस्व प्राप्ति हुन्छ । सालोक्य साष्र्टि सामीप्य सारुप्यैकत्वमप्युत । दीयमानं नगृह्णन्ति विना मत्सेवनंजनाः (भागवत ३।२९।१३)
भक्ति प्रेमले हुन्छ गोपिभक्ति यसको उदाहरण हो, मीराको भक्ति हो । क्रोधले पनि भक्ति हुन्छ, हिरण्यकशिपु र हिरण्याक्ष यसको उदाहरण हो, शत्रुताबाट पनि हुन्छ रावण, कंस आदि भए, विषालु स्वभावबाट पनि हुन्छ पुतनाहरु भए, शवरी, सुलभाको भक्ति जूठो बयर र काँचो केरा थियो, भक्ति जसरी गर्दा पनि हुन्छ किन्तु समर्पण भाव चाहिन्छ । बल हुनेले बल, क्रोध हुनेले क्रोध, केही नहुनेले व्रतबाट बा ऐश्वर्य अर्पण गर्न सक्नेले ठूला यज्ञ, उपासना, मन्त्र शक्तिबाट पनि हुन्छ ।
सूर्यबंशी श्रीरामले क्षेत्रीय कुलका विश्वामित्रलाई गुरु बनाए, श्रोत्रीय ब्रह्मनिष्ठ बशिष्ठलाई गृरु बनाए, चन्द्रबंशी श्रीकृष्णले ब्राह्मणको पाउ धोए, नारद आदि गुरुहरुबाट धर्म र अध्यात्मको ज्ञान लिए, अरुलाई पनि दिए । ज्ञान प्राप्त गरेर अरुलाई वितरण गरेन भने श्रीहरिले त्यस्तो व्यक्तिलाई हेर्दैनन्, अतः ज्ञानी, ध्यानीहरुको लक्षण के भने आपूmले प्राप्त गरेको ज्ञान अरुलाई सक्दो वितरण गर्नु पर्छ । ज्ञानं संप्राप्य संसारे यः परेभ्यो नयच्छति, ज्ञानरुपी हरिस्तस्मै प्रसन्न इव नेच्छते भनेको छ सत्यनारायण व्रतकथाले । मानिस मूलतः ३ प्रकारको हुन्छ अज्ञानी, अल्पज्ञानी र ब्रह्मज्ञानी । कि अज्ञानीलाई आनन्द हुन्छ किनभने उसलाई केही थाहै छैन मस्तराम छ, सुखी पनि छ, ब्रह्मज्ञानीहरु पनि मस्तराम छन्, सुखी हुन्छन्, बीचका हुन्छन् अल्पज्ञानी शंकालु, तर्क र संशयी यी, यी भड्की रहन्छन् संसारमा । ईश्वर प्राप्तिको योग्यता बुद्धि, उमेर, धन, रुप केही होइन, हो केवल समर्पंण भाव र सेवा जसलाई भक्ति भनिन्छ । भक्तिमा नारद भक्ति, प्रह्लाद भक्ति, गोपी भक्ति राम्रो मानिन्छ । माथि नै भनियो राजसी, तामसीहरुले पनि ईश्वर पाउन सक्छन् तर हामीमा त्यो सामथ्र्य छैन र सात्विक भक्तिको प्रयास जरुरी छ ।
१८ पुराणमा भागवत सर्वश्रेष्ठ छ भक्तिको रसास्वादनमा । भागवतको प्रारम्भमै महामुनि वेद व्यासजीले मोक्ष पर्यन्त कुनै पनि फलाशी नभई कैतवरहित परम धर्मको निरुपण गरेका छन् । यसमा अन्तस्करण शुद्ध भएका सत्पुरुषले जान्न योग्य परम र वास्तविक परमात्मा तत्वको निरुपण भएको छ जसबाट मानिसका तीन प्रकारका ताप शमन हुन्छ आध्यात्मिक, आधिदैविक र आधिभौतिक । विश्वासका साथ भागवत श्रवण मात्रैले पनि, कीर्तन, भजन मात्रैले पनि, स्मरण र निधिध्यासन मात्रैले पनि ईश्वरको अनुग्रह मिल्छ, किनकि यो वेद रुपी कल्पवृक्ष हो जे चाह्यो फल त्यही पाइन्छ । त्यो फल कस्तो छ भने भित्र बियाँ छैन, र बाहिर बोक्रा पनि । रसै रसले भरिएको पूर्ण शुकरुपी शुकदेव परमहंसका मुखारविन्दबाट निःसृत, अभैm स्वादिष्ट र धर्तीमा सहजै प्राप्ति सर्वसुलभ पनि छ । संसारका प्राणीले चाहने सुख, शान्ति र आनन्द हो यसैबाट सबै मिल्छ र त पहिलो श्लोकमै भनिएको छ सच्चिदानन्द रुपाय विश्वोद्पत्यादिहेतवे तापः त्रयः विनाशाय श्रीकृष्णय वयं नूमः। अस्तु सबैको कल्याण होस् ।


















