चीनको करिब ११ अर्ब रुपैयाँ अनुदानमा कलंकीदेखि बसुन्धरासम्म चक्रपथ विस्तार हुने भएको छ । दोस्रो चरणअन्तर्गत ८.२ किलोमिटर सडक र पुल निर्माण गर्ने सम्झौता बुधबार सम्पन्न भएको हो।सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले हस्ताक्षर गरेका छन्।
यसअघि सन् २०१९ मा सुरु भएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको थियो।सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।


















