स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत

स्वास्थ्य क्षेत्रमा ९ सय ७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९ सय ७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट आज स्वीकृत भएको हो । एक सचिवालय सदस्यले भने,‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ, अहिले स्वास्थ्यमा अति आवश्यक जनशक्तिको दरबन्दी थप गर्न लागेका हौं ।’

उक्त प्रस्ताव अब मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को निर्णयबाट दरबन्दी थप गर्ने निर्णय हुनेछ । स्वास्थ्य क्षेत्रमा तीन दशकयता दरबन्दी थप भएको थिएन । पूर्व स्वास्थ्यमन्त्रीले पटकपटक दरबन्दी थप गर्ने प्रक्रिया सरकारले अनुमति दिएको थिएन । स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएको स्थायी दरबन्दी विस्तारको माग अहिले पहिलो पटक ठोस निर्णयको चरणमा पुगेको हो । देशको जनसंख्या तीन करोड पुगेपनि स्थायी दरबन्दी संरचना पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था र विशेषज्ञ सेवामा जनशक्ति अभाव चर्किंदै थियो । नयाँ दरबन्दी हुँदा संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।