सुरक्षण मुद्रण केन्द्रले सुरु गर्‍यो १७ लाख स्मार्ट लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्रता दिएको छ । दोस्रो चरणअन्तर्गत थप १७ लाख थान क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छाप्ने काम सुरु गरिएको केन्द्रले जनाएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते स्मार्ट लाइसेन्स छपाइसम्बन्धी नयाँ सम्झौता भएको थियो । पहिलो चरणमा लामो समयदेखि थन्किएका ‘ब्याकलग’ लाइसेन्स छपाइ सकिएको तथा अहिले दैनिक मागलाई प्राथमिकतामा राखेर दोस्रो चरण अघि बढाइएको हो । सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा दैनिक ३१ हजारभन्दा बढीका दरले १२ लाख थान लाइसेन्स छापेर विभागलाई बुझाइसकिएको उनले बताए ।दोस्रो चरणअन्तर्गत हालसम्म २२ हजारभन्दा बढी लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिएको छ । जसमा अत्यावश्यक र नियमित दुवै प्रकारका लाइसेन्स समावेश छन् । वैदेशिक रोजगारी, अध्ययन वा अन्य अत्यावश्यक प्रयोजनका लागि विदेश जानुपर्ने सेवाग्राहीलाई प्राथमिकतामा राखेर लाइसेन्स छपाइ भइरहेको केन्द्रले जनाएको छ । सरकारको व्यवस्थाअनुसार ट्रायल पास वा नवीकरण शुल्क तिरेपछि प्राप्त विवरणका आधारमा २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गरी उपलब्ध गराउने प्रक्रिया पनि सञ्चालनमा रहेको छ ।

यसैबीच, पुराना आवेदनमध्ये करिब ५१ हजार ‘ब्याकलग’ लाइसेन्स छापिसकिएको र वितरण प्रक्रियामा रहेको जानकारी दिइएको छ । केन्द्रका अनुसार पहिलो चरणमा प्रयोग भएको कच्चा पदार्थ सकिएकाले दोस्रो चरणका लागि आवश्यक कागज तथा अन्य सामग्री खरिद प्रक्रिया अघि बढाइएको छ । ती सामग्री आउन करिब दुई साता लाग्ने भएकाले हाल अत्यावश्यक तथा २४ घण्टे सेवाअन्तर्गतका लाइसेन्स मात्रै छापिँदै आएका छन् । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच प्रतिलाइसेन्स १९५ रुपैयाँ १७ पैसामा छपाइ गर्ने सम्झौता भएको छ । यससँगै केन्द्रले हुलाक सेवा विभागका लागि ३० लाख थान हुलाक टिकट पनि छापेर हस्तान्तरण गरिसकेको जनाएको छ भने थप ६० लाख टिकट छपाइको प्रक्रिया अघि बढाइएको छ ।