बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि बिहान १० बजेसम्म खुलेको थियो भने पानीको बहाव बढेसँगै फेरी बन्द भएको छ । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको थियो। जिल्ला प्रहरी कार्यालयले लगातार वर्षा भइरहेकाले अत्यावश्यक बाहेक यो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार वर्षा बढ्नेबित्तिकै रोशी क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले सुरक्षाका लागि आवागमन रोक्ने गरिएको हो। राजमार्ग बन्द भएपछि सवारीसाधन धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएका छन्।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। हाल त्यस क्षेत्रमा सडक पुनर्निर्माणको काम भइरहेको छ।


















