एमालेको प्रधानमन्त्रीलाई प्रश्न: लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए । उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उनको प्रश्न छ । प्रधानमन्त्री साहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ । उनले भने,‘संविधानले नेपालको शासकीय स्वरुप बहुलबादमा बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संसदीय शासनप्रणाली हुनेछ भनेको छ ।

यहाँ एउटा प्रश्न जबरजस्त उठिरहेको छ, अहिलेको सरकारले कुन चाँही शासन प्रणालीलाई अबलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन व्यवस्थालाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली, अरु कुनै तन्त्र विकास गरिरहेको हो ? बजारमा एउटा कुरा छ, प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो की ? भन्ने आम जिज्ञासा बढिरहेको छ । यो किन भने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदको हुर्मत लिने, अपमान गर्ने काम गर्नुभएको छ ।’

उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरेका छन् । जनताका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए ।