दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति गठन

पोखरा । दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रदेश समिति गठन गर्दै सम्पन्न भएको छ। महाधिवेशनबाट ज्योतिषी भवेश भट्टराई प्रथम उपसभापतिमा निर्वाचित हुनु भएको छ। त्यस्तै अन्य उपसभापतिहरूमा क्रमशः अमृत पौडेल, नीलकण्ठ उपाध्याय, हरिचन्द्र भुसाल, कल्पना सुवेदी र महासचिवमा दीपक पौडेल चयन हुनु भएको छ।

महाधिवेशनमा दक्षिण एशियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी राष्ट्रिय समितिका सभापति खिलानाथ काफ्ले, केन्द्रीय कोषाध्यक्ष लक्ष्मण गौतम, राष्ट्रिय समितिका महासचिव तथा अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रबिन पंगेनी, नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका सभापति मोहराज ढकाल तथा विश्व ज्योतिष महासंघ गण्डकीका सभापति अर्जुन लामिछानेलगायतको विशेष उपस्थिति रहेको थियो।

नवनिर्वाचित प्रदेश समितिका सभापतिमा ज्योतिषी विष्णु प्रसाद सुवेदी निर्वाचित भएका छन्। कार्यक्रममा गण्डकी प्रदेशका पदाधिकारी, आजीवन सदस्य, ज्योतिष क्षेत्रका अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसअघि दक्षिण एशियाली ज्योतिष महासंघमा केन्द्रीय सदस्य, उपमहासचिव तथा प्रदेश कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका भवेश भट्टराई अहिले उपसभापतिको जिम्मेवारीमा पुगेका हुन्।

म्याग्दीको मालिक गाउँपालिका–७, बिम अर्कलामा जन्मिएका भट्टराई हाल पोखरामा ज्योतिष तथा वास्तु परामर्श सेवा प्रदान गर्दै आएका छन्। विगत आठ वर्षदेखि उनले राजनीतिक नेतृत्व, कलाकार, व्यवसायी, अस्पताल, विद्यालय तथा सर्वसाधारणलाई ज्योतिष तथा वास्तु परामर्श दिँदै आएका छन्।

पोखराको विन्ध्यवासिनी मन्दिरसँग आबद्ध ज्योतिषी तथा वास्तुविद् भट्टराईले ‘शास्त्री पशुपतिनाथ अवार्ड’सहित विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। उनले संस्कृत, ज्योतिष तथा वास्तुशास्त्रमा विशेष अध्ययन गरेका छन् भने अनलाइन माध्यमबाट विश्वभर रहेका नेपालीलाई समेत परामर्श सेवा उपलब्ध गराउँदै आएका छन्।

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, बनारसबाट अध्ययन गरेका भट्टराई विगत १३ वर्षदेखि ज्योतिष, वास्तु तथा रत्न विज्ञान क्षेत्रमा सक्रिय अनुसन्धानरत छन्। उनले फेस तथा रिडिङ विधिमार्फत पनि परामर्श सेवा दिँदै आएका छन्।

ज्योतिष क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप भट्टराईलाई सन् २०१८ देखि २०२६ सम्म विभिन्न गोल्ड मेडलबाट सम्मानित गरिएको छ। हाल उनी पोखरास्थित विन्ध्यवासिनी मन्दिरबाट आफ्नो सेवा सञ्चालन गरिरहेका छन्।