पक्राउ पुर्जीजारी भए पछि वीरगन्जका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेर फर्कि

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेर फर्किएका छन्।

अदालतले जेठ ८ गते जारी गरेको पक्राउ पुर्जी मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको सूचना सार्वजनिक भएपछि उनी अदालत पुगेका हुन्।

बुधबार बिहानै अदालत पुगे पनि उनी अदालती प्रक्रिया पूरा नगरी फर्कनुपरेको छ।

वीरगन्ज महानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेल सहित उनी अदालत पुगेका थिए। तर मुद्दाको चाप बढी भएका कारण उनको मुद्दा सुनुवाइ हुन नसक्ने जानकारी अदालतले गराएपछि उनी त्यसै फर्किएका हुन्।

अदालतका सूचना अधिकारी जयनारायण यादवले अदालतले सुनुवाइ गर्न नभ्याउने भएकाले हाजिर नगराइएको जानकारी दिए।

वीरगन्ज महानगरपालिकाका कानुनी सल्लाहकार कमल मोहन पोखरेलले अदालतमा आज कामको लोड भएकाले सुनुवाई हुन नसक्ने जानकारी पाएपछि फर्केको बताए।

अदालतले पक्राउ पुर्जी जारी गरिसकेपछि प्रहरीले पक्राउ गरेर अदालतमा लैजान्छ वा व्यक्ति स्वयं अदालतमा उपस्थित हुन सक्छ। स्वयं उपस्थित भएको अवस्थामा अदालतले उपस्थितिको अभिलेख राख्छ।

त्यसपछि बयान लिन्छ र मुद्दाको प्रकृति हेरेर थुनछेक, धरौटी, बयान वा तारेख सम्बन्धी निर्णय गर्छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले भने प्रहरीले मेयर सिंहलाई खोजी गरिरहेको जानकारी दिए।

 

‘हिजो साँझ पक्राउ पुर्जी प्राप्त भएको छ, खोजतलास जारी छ,’ उनले भने, ‘अदालतमा उपस्थिति भए/नभएको बारे जानकारी छैन।’