रवि-मोदी भेटप्रति सीके राउतको आशंका, ‘मधेशी नेतृत्व निशानामा’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई लिएर आशंका व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसलाई मधेशी नेतृत्वलाई कमजोर बनाउने रणनीतिको हिस्सा बन्न नदिन चेतावनी दिएका हुन्। राउतले नेपालमा पहिलोपटक मधेशी समुदायबाट प्रधानमन्त्री बनेको सन्दर्भ उल्लेख गर्दै त्यसको विकल्प खोज्ने प्रयास भइरहेको दाबी गरेका छन्।

नाम नलिए पनि उनले वर्तमान प्रधानमन्त्रीलाई लक्षित गर्दै उनको राजनीतिक हैसियत कमजोर पार्ने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाए। उनले विगतदेखि नै मधेशी नेताहरूलाई स्थापित हुन नदिएको दाबी गर्दै विभिन्न राजनीतिक दल र नेतृत्वमाथि दबाब, विभाजन, बदनाम र दमनका माध्यमबाट कमजोर पारिएको टिप्पणी गरे।

राउतका अनुसार अहिले पनि मधेशी नेतृत्व नै निशानामा परेको छ र त्यसतर्फ सबैले सतर्क रहन आवश्यक छ।