सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूमा पछिल्ला दिनमा माग उल्लेख्य रूपमा बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले केही दिनअघि सामाजिक सञ्जालमार्फत डीडीसीका दुग्धजन्य उत्पादनको प्रचार गरेपछि बजारमा उपभोक्ताको आकर्षण बढेको हो। डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रचारपछि उत्पादनको माग करिब ५० प्रतिशतले वृद्धि भएको छ। माग बढेसँगै केही उत्पादनहरूको मूल्य समायोजन गरिएको संस्थानले जनाएको छ। संस्थानका अनुसार दूध, दही, घिउ र पनिरमा २ रुपैयाँदेखि १०० रुपैयाँसम्म मूल्य परिवर्तन गरिएको छ।
स्ट्यान्डर्ड आधा लिटर दूधको मूल्य ४९ रुपैयाँबाट ५० रुपैयाँ पुगेको छ भने दहीको मूल्य पनि बढाइएको छ। एक लिटर दही १५० बाट १६० रुपैयाँ पुगेको छ। घिउको मूल्य प्रति लिटर ११५० रुपैयाँबाट बढेर १२५० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति किलो ८२५ बाट ८७५ रुपैयाँ कायम गरिएको छ। केही साना प्याकेटहरूमा पनि समानुपातिक मूल्य वृद्धि गरिएको डीडीसीले जनाएको छ।
विराटनगर लगायतका बजारमा खुला दूधको मूल्य निजी क्षेत्रको तुलनामा फरक रहेको देखिन्छ। डीडीसीले भने आफ्ना उत्पादनलाई अझै पनि सुलभ मूल्यमा उपलब्ध गराइरहेको दाबी गरेको छ।डीडीसीले माग बढेसँगै आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उत्पादन क्षमता विस्तार र संकलन केन्द्र सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको जनाएको छ। साथै, किसानको बक्यौता भुक्तानीलाई प्राथमिकतामा राखिएको पनि संस्थानले स्पष्ट पारेको छ।


















