नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेतृत्व पाएसँगै संस्थागत तथा नीतिगत कामहरू औपचारिक रूपमा सुरु गरेको छ। सरकारको पछिल्लो कार्यविभाजनअनुसार साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि अलग गर्दै ‘नवप्रवर्तन’ थपेर नयाँ मन्त्रालय गठन गरिएको हो। स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। पदभार ग्रहणसँगै मन्त्री पुनले मन्त्रालयलाई शून्य अवस्थाबाट अघि बढाउनुपर्ने भएकाले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका छन्।
यसैबीच, मन्त्रालयकी सचिव इञ्जिनियरिङ सेवा समूहकी प्रमिला बज्राचार्यले केही दिनअघि जिम्मेवारी सम्हालेकी हुन्। उनले मन्त्रालयले हाल सिंहदरबारस्थित पूर्व युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरु गरेको जानकारी दिएकी छन्। सचिव बज्राचार्यका अनुसार मन्त्री पुनको निर्देशनअनुसार मन्त्रालयले प्रारम्भिक संरचनागत कामहरू अघि बढाएको छ। मन्त्रालयको वेबसाइटको नमुना (टेम्प्लेट) तयार गरी सूचना प्रविधि विभागलाई पठाइसकिएको र प्राविधिक प्रक्रियाका कारण ७२ घण्टाभित्र अपलोड हुने अपेक्षा गरिएको उनले बताइन्। हाल मन्त्रालयमा २४ जना कर्मचारी कार्यरत छन्। नयाँ संगठन संरचना तयार भएपछि कर्मचारी संख्या विस्तार हुने जनाइएको छ। मन्त्री पुनले मन्त्रालयमै सरकारी निवास कायम गर्ने तयारीसहित सिंहदरबारमा बसाइँ सरेका छन्।


















