राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको हिरासतमा ।

 

 

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अहिले अख्तियारको हिरासतमा छन् ।

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको उच्च स्रोतले पुष्टि गरेको छ ।

अर्याललाई सोमबार बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो । उनलाई पासपोर्ट खरिद प्रकरणको फाइल लिएर आउन भनिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई मध्यान्ह १२ बजेतिर प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र आयोगबाट खटिएका अनुसन्धान अधिकृतहरूले दिनभर फाइल अध्ययन गरेपछि हिजो साँझ अर्याललाई अख्तियारको जिम्मा लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

 

साँझ ९ बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेर लगेका हुन् । अख्तियारले पासपोर्ट खरिदमा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ ।