राहदानी खरिद प्रकरणमा आरजु राणालाई २ दिनभित्र उपस्थित हुन निर्देशन

राहदानी खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा पनि तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुन्धानमा राणा तानिएकी हुन् । विभागीय मन्त्रीको हैसियतमा उनी विवादमा परेकी हुन् । साथै, उनको परिवारका सदस्यको सक्रियतासमेत देखिएका कारण राहदानी खरिद प्रकरणमा देउवा तानिएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउवालाई २ दिनभित्र उपस्थित हुन भनेको छ । अनुसन्धानका लागि म्याद तामेल गर्दै आयोगले २ दिनको समय दिएको हो । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले देउवाको म्याद तामेली गराएका हुन् । देउवा निवास उनको वडामा पर्ने भएका कारणले तामेली गराएका हुन् ।

श्रेष्ठले शिलापत्रसँगको कुराकानीमा गत मंगलबार म्याद तामेल गराएका हुन् । शिलापत्रसँग श्रेष्ठले भने, ‘अस्ति मंगलबार हामीले म्याद तामेल गराएका हौँ । हामी बुढानिकण्ठ निवासमा गएका थियौं, त्यहाँ खण्डहर भएपछि भानु देउवालाई फोन गरेका थियौँं । उहाँले म्याद बुझ्नु भएको हो ।’

आयोगले दुई दिनभित्र वयानका लागि उपस्थित हुन भनेको थियो । दुई दिनको म्याद दिएको भएपनि देउवा नेपालबाहिर भएका कारण उनको वयान कसरी हुन्छ ? भन्ने चासो बढेको हो ।