सांसदहरुलाई मन्त्री लम्सालको आश्वासनः निर्धक्क भए हुन्छ,ठूला आयोजनाका लागि बजेटको अभाव हुन्न

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरेका हुन् ।

त्यसअवसरमा उहाँले वहुवर्षीय आयोजनाहरुका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरुलाई आश्वास्त बनाउनु भयो । मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरुको लागि बजेटको अभाव नहुने पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘ठूल्ठूला योजनाहरुलाई पनि थोरैथोरै बजेट भन्ने गुनासो छ । राजमार्ग भनेको छ ।

बजेट एक अर्व हालेको छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोविलाईजेशन हुन्छ । काम गर्नु हुन्छ उहाँहरुले । एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुन्छ । जति पैसा लाग्छ, त्यो योजनालाई । त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट कितावमा नदेखिएर हजुरहरुले त्यो प्रश्न गर्नु भएको हो । सबै धेरैजसो हाईवेहरु वहुवर्षिय नै हुन्छ । त्यसमा कमै पैसा देखिएपनि त्यो निर्माण सम्पन्न हुनका लगि जति पैसा चाहिने हो, त्यो पैसा छ । त्यसमा निर्धकक्क हुनुहोला ।’

मन्त्री लम्सालले कुनै जरुरी महत्वको आयोजना भए त्यसलाई अघि बढाउन सरकार तयार रहेको पनि बताउनु भयो ।