असार ६,इलाम, मेची राजमार्गअन्तर्गत इलामको माईखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा गत वर्ष गएको विनाशकारी पहिरोको असर अझै पूर्ण रूपमा हट्न सकेको छैन। पहिरो गएको लामो समय बितिसक्दा पनि सडकलाई पुरानै अवस्थामा पुनःस्थापना गर्न नसक्दा यस मार्गबाट सञ्चालन हुने यातायात सेवा प्रभावित बन्दै आएको छ। गत वर्षको वर्षायाममा गएको ठूलो पहिरोले सडकको महत्वपूर्ण भाग बगाएपछि उक्त क्षेत्रमा आवतजावतमा समस्या सिर्जना भएको थियो।सडक डिभिजन कार्यालयले अस्थायी रूपमा सडक सञ्चालनमा ल्याए पनि स्थायी समाधान हुन नसक्दा यात्रु तथा सवारी चालकले अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हाल सडकको केही भाग साँघुरो तथा कमजोर अवस्थामा रहेकाले ठूला सवारीसाधन सञ्चालनमा निकै कठिनाइ भइरहेको सवारी चालकले बताएका छन्। वर्षायाम सुरु भएसँगै र पानी पर्ने बितिकै थप पहिरो खस्ने जोखिम बढेकाले यात्रुहरू त्रसित बनेका छन्। स्थानीयवासी तथा यातायात व्यवसायीहरूले सडकलाई दिगो र सुरक्षित बनाउने गरी पुनर्निर्माण र सडक निर्माणका काम भईरहेता पनि सहज तरिकाले सवारीसाधन गुड्नका सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। मेचि राजमार्गको यो सडक खण्ड हुदै सिङ्गो जिल्ला पाँचथर ,ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण मार्ग भएकाले यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ। सडक डिभिजन कार्यालयले भने प्रभावित क्षेत्रमा मर्मत तथा संरक्षणका कामहरू भइरहेको जनाएको छ। आवश्यक बजेट र प्राविधिक व्यवस्थापनका आधारमा सडकलाई पूर्ण रूपमा सुरक्षित बनाउने प्रयास जारी रहेको कार्यालयको भनाई छ। तरपनि राजदुवाली क्षेत्रमा पहिरोको जोखिम पूर्ण रूपमा नियन्त्रणमा नआउँदा मेची राजमार्ग प्रयोग गर्ने यात्रुहरूले अझै धेरै सास्ती खेप्नुपरेको छ। स्थानीयले याे वर्षायामअघि नै स्थायी समाधान निकाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


















