काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।
ललितपुर र काठमाडौँको सिमानास्थित काठमाडौँ महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो ।
लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
गोली प्रहारबाट घाइते भएका ओझैयालाई उपचारका लागि अस्पताल पठाइएको छ । ओझैया खैरो हेरोइन मगाउने मुख्य व्यक्ति रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्


















