नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ

 

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन्। उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपरान्न  प्रहरीले नियन्त्रणमा लिएको हो।

एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठनु सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए। कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं गाडी लिएर होटल पुगेका थिए। प्रहरीलेञ जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए।

एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएका छन्। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

कार्यक्रममा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो। कार्यक्रम जारी रहँदै गर्दा भएको यो आकस्मिक पक्राउले एमाले कार्यकर्ताहरूमाझ खैलाबैला मच्चिएको छ। यद्यपि कार्यक्रम अझै जारी रहेको छ। यसै बीच कर्णाली प्रदेशका एसएसपी सन्तोष सिंह राठौरले पौडेललाई विभागको पत्रको आधारमा पक्राउ गरेको पुष्टि गरे ।