खोटाङलाई कोशी सरकारको ‘मेगा प्याकेज’: सडकदेखि पुलसम्म अर्बौंको पूर्वाधार योजना

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्षका लागि खोटाङ जिल्लामा सडक, पुल, भवन तथा अन्य पूर्वाधार विकासतर्फ ठूलो परिमाणमा बजेट विनियोजन गरेको छ। सार्वजनिक विवरणअनुसार जिल्लाभर सडक स्तरोन्नति, कालोपत्रे, मोटरेबल पुल, झोलुंगे पुल, सरकारी भवन निर्माण तथा सामाजिक पूर्वाधारका दर्जनौं योजनामा करोडौं रुपैयाँ बराबरका परियोजना समावेश छन्।

सबैभन्दा ठूलो योजना खानीडाँडा विमानस्थलदेखि याम्खा–रातामाटा हुँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका कार्यालय र पञ्चमी थामखर्क जोड्ने (याम्खा–थामखर्क खण्ड) सडकका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

अन्य प्रमुख योजनाहरू:
रुवा फेदी-बुवाखोला पक्की पुल निर्माण: रु ३ करोड ७० लाख
उदयपुर गाईघाट-रसुवाघाट-पाँच पान्धारे बहुवर्षीय सडक: रु ३ करोड
खानीडाँडा-पञ्चमी बजार सडक कालोपत्रे:रु २ करोड ५० लाख
खाल्ले-राजापानी रिखुवा खोला सडक पुनर्निर्माण: रु २ करोड ५० लाख
बेलिब्रिज खरिद तथा जडान: रु २ करोड
दिक्तेलबारी-साकेला धारा-चिउरीको फेद सडक स्तरोन्नति: रु १ करोड ५० लाख
पत्रकार महासंघ खोटाङ भवन निर्माण: रु १ करोड ५० लाख
पूर्वाधार विकास कार्यालय खोटाङ भवन निर्माण: रु ७० लाख

यसका अतिरिक्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला, दिप्रुङ चुईचुम्मा, जन्तेढुंगा, रावाबेँसी, बराहपोखरी, केपिलासगढी, ऐसेलुखर्क र खोटेहाङलगायत स्थानीय तहमा सडक, पुल, भवन र सामुदायिक पूर्वाधारका १ सयभन्दा बढी साना–ठूला योजनामा ५ लाखदेखि १ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।

साथै, कृषि सडक, ग्रामीण सडक, पर्यटन पूर्वाधार, मन्दिर तथा सांस्कृतिक भवन, विद्यालय, प्रहरी चौकी, सिटिइभिटी संरचना, रेडक्रस भवन, सामाजिक कल्याण कोष भवन, जनता आवास कार्यक्रम तथा सिँचाइ आयोजनाहरू प्राथमिकतामा परेका छन्।

यसैबीच सामाजिक सञ्जालमार्फत सार्वजनिक विवरणमा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईप्रति धन्यवाद व्यक्त गर्दै खोटाङका विकास योजनामा बजेट सुनिश्चित भएको उल्लेख गरिएको छ।

समयमै कार्यान्वयन भए यी योजनाले जिल्लाको सडक सञ्जाल विस्तार, यातायात पहुँच सुधार र समग्र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।