एआई कम्पनीले बिजुली, पानी र जग्गाको हिसाब दिनुपर्छ: गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एआई वातावरणीय पारदर्शिता पहल (एआई इन्भायरन्मेन्टल ट्रान्सपेरेन्सी इनिसिएटिभ)को प्रस्ताव राखेका छन् । लन्डन क्लाइमेट एक्सन विकलाई सम्बोधन गर्दै मंगलबार उनले एआई कम्पनीहरूले आफ्नो प्रविधिले वातावरणमा पारिरहेको प्रभावको मापन गर्नुपर्ने र त्यससम्बन्धी जानकारी सार्वजनिक गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनको असर झन् गम्भीर बन्दै गइरहेका बेला एआई कम्पनीहरूमाथि वातावरणीय पारदर्शिता बढाउन दबाब पनि बढिरहेको हो ।

डाटा सेन्टर रहेका क्षेत्रका स्थानीय समुदायबाट समेत यस्ता मागहरू उठ्न थालेका बताइएको छ । हाल विश्वभर करिब १२ हजारभन्दा बढी डाटा सेन्टर सञ्चालनमा रहेको बताइएको छ । यी सेन्टरहरूले विश्वभर उपलब्ध कुल बिजुलीको करिब २ देखि ३ प्रतिशत हिस्सा खपत गरिरहेका छन् ।

२० जुनदेखि सुरु भई २८ जुन २०२६ सम्म सञ्चालन हुने लन्डन क्लाइमेट एक्सन विकमा गुटेरेसले कम्पनीहरूलाई सन् २०३० सम्म आफ्नो सञ्चालन स्वच्छ ऊर्जामा आधारित बनाउने लक्ष्य तय गर्न आग्रह गरे । उनले भने, “अब लुकेका लागतहरू स्वीकार्य हुने छैनन् । यसको बोझ ती मानिसहरूमाथि थुपारिनु हुँदैन, जो यसलाई वहन गर्न सक्षम छैनन् ।”