क्रिप्टो व्यवसायबाट एकै वर्षमा ट्रम्पले कमाए १.४ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा)को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।

सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो व्यवसाय र आम्दानीको ९२७ पाना लामो विस्तृत खुलासा गरेका हुन् । सार्वजनिक प्रतिवेदनमा ट्रम्पको व्यावसायिक संलग्नता र क्रिप्टोबाट भएको आम्दानीको विवरण स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

वित्तीय विवरण अनुसार, ट्रम्पले आफ्नै नाममा जारी गरिएको ट्रम्प मिम कोइनबाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन् । त्यसैगरी, उनका छोराहरू र विशेष दूत स्टिभ विटकफका सन्तानहरू मिलेर स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सबाट ट्रम्पले ५० करोड डलरभन्दा बढी आम्दानी गरेका छन् ।

उनले आफ्नो मार–अ–लागोक्लबबाट करिब ७ करोड ७० लाख डलर, फ्लोरिडाको डोराल गल्फ क्लबबाट १२ करोड २० लाख डलर, तथा न्यु जर्सी, जुपिटर र स्कटल्याण्डमा रहेका गल्फ क्लबहरूबाट जनही ३ करोड डलरभन्दा बढी कमाएका छन्।