युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले देशमै आकर्षक रोजगारीको आधार निर्माण गर्न काम गरिरहेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र अवसरमुखी बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए। उनका अनुसार आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अघि सारिएको छ। मन्त्री यादवले विदेश जाने युवालाई सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने बताए।
साथै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामार्फत स्वदेशमै स्थापित गर्ने सरकारको योजना रहेको पनि उनले उल्लेख गरे। उनका अनुसार फर्किएका उद्यमीहरू अन्य श्रमिकका लागि प्रेरणाको स्रोत बन्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार पाँच वर्षभित्र देशलाई बस्न लायक बनाउने लक्ष्यसहित अघि बढिरहेको दाबी गर्दै उनले भने, “सरकार श्रम बजारलाई सीपयुक्त, उद्यमशील र आकर्षक बनाउन प्रतिबद्ध छ। युवालाई नेपालमै टिकाउने वातावरण बनाइनेछ। विदेश गए पनि सीप र अनुभव लिएर फर्किन सक्ने प्रणाली विकास भइरहेको छ।”



















