जन्मदिनले जोड्दै छिमेक: संस्कारी समाज निर्माणको उदाहरण

काठमाडौं। शहरको व्यस्त जीवनशैलीबीच छिमेकीसँगको सम्बन्ध कमजोर बन्दै गएको चर्चा भइरहेका बेला काठमाडौंको टोखा नगरपालिका–८, जालपा–भुवनेश्वरी टोल स्थानीयवासीले भने उदाहरणीय सामाजिक अभ्यासलाई निरन्तरता दिएका छन्। यहाँ टोलका साथीभाइ र छिमेकीहरू मिलेर एक–अर्काको जन्मदिन मनाउने परम्पराले आत्मीयता, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाइरहेको छ।

यसैक्रममा स्थानीय समाजसेवी कृष्णबहादुर राउतको जन्मदिन जालपा चोकका साथीभाइ, छिमेकी तथा विभिन्न पेशा र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको उपस्थितिमा सादगीपूर्ण रूपमा मनाइएको हो।

जन्मदिन मनाउनका लागि छुट्टै संस्था वा औपचारिक समूह नभए पनि टोलका साथीहरूबीच एक–अर्काको खुसीमा सहभागी हुने संस्कार विकास भएको छ। उनले आफू जालपा–भुवनेश्वरी टोल सुधार समितिको पूर्व अध्यक्षसमेत रहेको उल्लेख गर्दै यस्तो अभ्यासले समाजलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

“हामी सबैको राजनीतिक आस्था फरक–फरक हुन सक्छ। तर टोलको सामाजिक सम्बन्धमा राजनीति प्रवेश गर्दैन। जन्मदिनजस्ता खुसीका अवसरमा सबै एउटै परिवारझैँ भएर शुभकामना साटासाट गर्छौं,” उनले भने।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष नवराज सिलवाल, राप्रपाका पूर्व नगर अध्यक्ष योगेन्द्रराज पाण्डे, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य राजाराम पुडासैनी, पूर्व निर्वाचित वडा सदस्य निशा पाण्डे, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम आचार्य, स्थानीय समाजसेवी श्रीकृष्ण बानियाँ, व्यवसायी मुकुन्द पाण्डेलगायत टोलका अन्य स्थानीयवासी सहभागी थिए।

स्थानीयका अनुसार जालपा चोकमा कसैको जन्मदिन परे सकेसम्म सबै साथीभाइ र छिमेकी भेला भएर शुभकामना आदानप्रदान गर्ने, सामान्य भेटघाट गर्ने र खुसी साट्ने परम्परा बस्दै गएको छ। यसले एक–अर्काप्रतिको विश्वास बढाउनुका साथै सुख–दुःखमा साथ दिने संस्कारलाई पनि मजबुत बनाएको छ।

सहभागीहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तामा पनि सामाजिक उत्तरदायित्व, आपसी सम्मान र सहकार्यको भावना विकास हुने बताएका छन्। सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्ने चलन बढिरहेका बेला प्रत्यक्ष भेटघाट गरी आत्मीयता साट्ने अभ्यासले समाजलाई अझ जीवन्त बनाउने उनीहरूको विश्वास छ।

शहरमा छिमेकीबीचको सम्बन्ध क्रमशः औपचारिक बन्दै गइरहेका बेला टोखा–८ को जालपा–भुवनेश्वरी टोल मा विकसित भएको यो अभ्यासले संस्कारी, सहयोगी र आत्मीय टोल–छिमेक निर्माण गर्न साना सामाजिक पहलहरू पनि प्रभावकारी हुने सन्देश दिएको छ। स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सम्बन्ध बलियो बनाउने अवसरका रूपमा स्थापित गर्दै आएको छ।